
काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ६ जनाको मृतयु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–९ स्थित सडकमा म्याङलुङ बजारबाट जरिखिम्तीतर्फ
जाँदै गरेको को।१४ प ८९२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका–८ बस्ने २२ वर्षीय चालक संगम तामाङ र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय सबिन लिम्बु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी पर्साको बिन्दबासिनी गाउँपालिका–५ प्रसौनि चोकमा भारतबाट भेलाहीतर्फ आइरहेको बिआर ०५ एएस ०४६८ नम्बरको मोटरसाइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पूर्वी चम्पारण बस्ने ६५ वर्षीया सुदामा देवी रहेकी छिन् । उनको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साथै धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७२ वर्षीय रौदीया ठाकुर बरही रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि जनकपुरतर्फ लैजाँदै गर्दा आइतबार बेलुकी बाटोमै मृत्यु भएको हो । प्रहरी चौकी बरमझिया र ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले शंकास्पद ३ वटा मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–१ बिशालनगर चोकस्थित सडकमा लु.८२ प ६४६८ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही उपमहानगरपालिका–१८ बस्ने ३६ वर्षीय प्रदिप थारू रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैसाथ पाल्पाको तानसेन नगरपालिका–१४ अर्गेली पुरानो गाउँस्थित सडकमा जोर्तेबाट अर्गेलीतर्फ जाँदै गरेको लु.४२ प ६७०९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान कालिमाटी गाउँपालिका–२ बस्ने ३० वर्षीय नरेश घर्ती मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।