
काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकस्थित सडकमा ग.२२ प ७९५१ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३–००१–क ००२१३ नम्बरको ट्रकले सोमबार दिउँसो स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भएकी २० वर्षीया वर्षा कुमाल रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बाराको कलैया उपमहानगरपालिका–१८ स्थित सडकमा प्र.२–०३–००७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रसौनी गाउँपालिका–१ बस्ने ३२ वर्षीय रबी गुप्ता रहेका छन् । दुर्घटनमा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल प्रसौनी हुँदै थप उपचारको लागि एनएमसी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
साथै मोरङको उर्लाबारी नगरपालिका–४ स्थित सडकमा प्र.१–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई प्र.३–००१ क ००९५ नम्बरको टिपरले मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी तिरहुत गाउँपालिका–५ बस्ने २८ वर्षीय निरज यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।