
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । कैलालीको टिकापुर नगरपालिका–६ नारायणपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय ६० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सुरज चौधरी र १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ०२ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी औरही गाउँपालिका–५ बस्ने २१ वर्षीय नितिश कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित सोमबार साँझ पक्राउ गरेको हो ।
साथै काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ९४ एम्पुल, फेनारगन १ सय ९६ एम्पुल र नुर्फिन २ सय एम्पुलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ मखनटोल बस्ने ५० वर्षीय अनिल महाजु रहेका छन् । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश–०३–००१ ज ०३८५ नम्बरको टाटा सुमोलाई प्रहरी टोलीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषधसहित सोमबार साँझ पक्राउ गरेको हो ।
यसैसाथ बाराको कोल्हबी नगरपालिका–२ भलुवाहीखोरबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका–१३ बस्ने ३८ वर्षीय बलराम लामा, २७ वर्षीय अनिल लामा र ३५ वर्षीय शुकराम स्याङतान रहेका छन् । अस्थायी प्रहरी पोष्ट झुरझुरबाट खटिएको प्रहरी टोलीले तामागढीबाट कोल्हबीतर्फ आउँदै गरेको ना.२ ह १४०० नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित सोमबार साँझ पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।