छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी मैनाली पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर १३ ग्राम ५ मिलिग्राम, २ थान मोबाइल र नगद २१ हजार रूपैयाँसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–८ रूद्रमती डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका–१३ घर भएका २६ वर्षीय विशाल बुढाथोकी रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ परेको हो ।

यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५ सय ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पर्सा कालिकामाई गाउँपालिका–१ भेडियारी बस्ने ३५ वर्षीय लालबाबु आलम र पर्सा वीरगंज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने ३५ वर्षीय शेख सिकन्दर मिँया रहेका छन् । ईलाका प्रहरी कार्यालय सिमाराबाट खटिएको प्रहरी टोलीले ना.५२ प ५१४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

साथै बाँकेको नेपालगंज उपमहानगरपालिका–२ सेतु बिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१ धम्बोझी बस्ने ३२ वर्षीय सेराज खान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित मंगलबार राति पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।