६० किलो सुन तस्करी प्रकरणः दावा छिरिङले काभ्रेका पेमा तामाङको छोरा बनेर नेपाली नागरिकता लिएको पुष्टि

दियो पोस्ट  

काठमाडौं । ६० किलो बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियमको पासपोर्टधारी तिब्बती मुलका दावा छिरिङले काभ्रे जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ। उनले काभ्रेको नमोबुद्ध नगरपालिका–११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको देखिएको हो। उनको नागरिकताका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति नै बनाएको थियो।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

समितिमा गृह मन्त्रालयको कानुनी शाखा अधिकृत प्रमोद विक, काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने, अध्यागमन विभागका अधिकृत खेमराज सापकोटा र जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत मीनराज थापा थिए।

समितिले २ हप्ता लगाएर गरेको अनुसन्धानमा उनले नेपालबाट नागरिकता लिएको पुष्टि भएको हो। उनी नेपालमा बेल्जियमको नागरिकका रुपमा पर्यटक भिसामा आएको अवस्थामा पक्राउ परेका थिए। उनले नेपाली नागरिकता लिएको पाइएपछि तथ्य पुष्टि गर्न अनुसन्धान टोली गठन गरिएको थियो। सो नागकिरताको यकिन गर्न गरिएको अनुसन्धानमा उनले किर्ते गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको उच्च स्रोतले बतायो ।

सिफारिस