सरकार कति समय चल्छ भन्ने ‘टेन्सन’ छैन : प्रधानमन्त्री प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफूलाई प्रधानमन्त्रीका रुपमा केही लिनुदिनु नभएको बताएका छन्। उनले राष्ट्र, जनता, क्रान्ति र उपलब्धिको रक्षाका लागि आफ्नो बाँकी जीवन सम्पूर्ण रुपले लगाउनबाहेक आफ्नो केही उद्देश्य पनि नभएको बताए।

‘त्यसकारण मैले यो सरकार कति समय चल्छ, चल्दैन भन्नेमा मेरो ‘टेन्सनु छैन’, बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा सम्बोधन गर्दै उनले भने, ‘कतिपय मान्छेहरूले सरकार जोगाउन यसो गर्‍यो, त्यो गर्‍यो भन्छन्। वाहियात कुरा भन्छन्।’

उनले आफूले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन भए पनि ठीकै छ, एक महिना भए पनि ठीकै भन्ने सोच राखेको बताए। ‘राम्रो कामको सुरुवात गर्छु, राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ, हेर्छु। एक महिना भए छाडिदिने, म फेरि सरकार छाड्न गाह्रो मान्ने मान्छे पनि होइन। तर अहिले झन्डै आठ महिना हुन लाग्यो। अझ राम्रो, राम्रो, राम्रोतिर नै गएको देखिन्छ। मोर्चा पनि बन्यो। गठबन्धन पनि राम्रै गइरहेको छ’, उनले भने।

बिहीबार वीरन्द्रनगरमा उनले भ्रष्टाचार र अनियमितताका विरुद्ध सरकारले चालेका कदमको चर्चा गर्दै दोषी देखिए कसैलाई नछाड्ने बताए। उनले भने, ‘एकथरीले माओवादी र प्रचण्डले आफ्नो मान्छेचाहिँ बचाउँछ, कांग्रेस र एमालेलाई मात्रै हान्छ भनेर निकै हल्ला गरिरहेका छन्। मैले सीआईबीलाई, प्रहरीलाई भनेँ, यदि दोषी देखिन्छ भने माओवादीका जोसुकै नेता भएता नि र गर्दै जाँदा बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनेको छु।’