यी हुन् अपराधमा मुछिएका १५ धर्मगुरु

बलात्कार आरोपीदेखि ठगी अभियुक्तसम्म !

- खुमा ओली  

काठमाडौं । नेपाली समाज अधिकांश आस्तिक र आवश्यकताभन्दा बढी उद्धार पनि छ । त्यसको फाइदा विभिन्न क्षेत्रका वाचाल मानिसहरूले उठाउदै आएका छन् । जुनसुकै धर्म मानेपनि सबैको मूल्यमान्यता एउटै जस्तो छ । हरेक धर्मले सिकाउने कुरा एउटै छः सत्यता, नैतिकता, इमान्दारिता र अनुशासन । तर पछिल्लो समय धर्म व्यापार बन्दै गएको छ । पैसाबिना धर्म हुँदैन भन्ने मानसिकताले समाज ग्रस्त छ । धर्मको खोल ओढेर सोझालाई लुटी खाने प्रवृत्ति झन् झन् मौलाउदो छ । धर्मको पसल खोलेर ठगीसँगै यौन शोषणजस्ता जघन्य अपराध गरेको आरोप धर्मगुरुहरुमाथि लाग्दै आएको छ । कतिपय स्वघोषित धर्मगुरुहरूले आफ्नै चेली बनाइएका महिलाहरूमाथि दुव्र्यवहार र बलात्कारसम्म गर्ने गरेको खुलासा भइरहेका छन् । धर्मलाई रहस्य बनाएर सोझासिधासित ठग्न माहिर धर्मगुरुहरूले आफ्नो पोल खुल्ने डरले आफ्नै चेला र कामदारहरूलाई गायब पारेको घटना पनि सार्वजनिक भइरहेका छन् । आफूमाथि लगाइएका आरोपको ती धर्मगुरुहरूले खण्डनसम्म गर्न सकिरहेका छैनन् । बरु समाज र सञ्चारकर्मीका प्रश्नको सामना गर्न नसकी लुकी लुकी हिँडिरहेका छन् । विभिन्न धर्मका नाममा विभिन्न अपराध गर्नेहरुको कमी छैन । धार्मिक आवरणमै जघन्य अपराध गर्नबाट पनि पछि हट्दैनन् यी कथित धर्मगुरुहरु । धर्मको नाममा ‘ठग’ हरुको कमाउधन्दा चलिरहेकै छ ।

१. लिटिल बुद्धका नामले परिचित रामबहादुर बमजन

गत पुष २४ गते “लिटिल बुद्ध”का नामले चर्चित रामबहादुर बमजन पक्राउ परे । तपश्वी भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोपमा बमजनलाई केन्द्रीय अनुसन्धान ब्यरो सीआइबीले काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गर्यो । बमजनमाथि सर्लाही, नुवाकोट, मकवानपुरका केही मानिसलाई बेपत्ता पारको र सर्लाहीको आश्रममा बलात्कार गरेको र सर्लाहीको आश्रममा बलात्कार गरेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
बमजनविरुद्ध २०७६ मा सर्लाहीमा नाबालिगमाथि बाल यौन दुराचार र बलात्कारको उजुरी परेपछि प्रहरीले उनलाई खोज्न थाल्यो । उनको नाममा अदालतबाट पक्राउ आदेश जारी भए पनि करिब चार वर्षसम्म प्रहरी र बम्जनबीच ‘चोर–पुलिस’को खेल जारी नै रहे पनि अन्ततः उनी पक्राउ परे । दुरुपयोग मुद्दामा २०८१ असार १७ मा १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनायो । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले असार १० गने नै दोषी ठहर गरेको थियो । बहसमा सरकारले जन्मकैद २० वर्ष सजाय हुनुपर्ने माग गरेका थिए तर अदालतले भने आधा मात्र १० वर्ष कैदको फैसला सुनाएको थियो ।


२. सिद्ध बाबा

विवादित धर्मगुरु सिद्धबाबा रामकृष्णचार्य श्री वैष्णव कृष्णदास भनिने कृष्णबहादुर गिरीविरुद्ध २०७६ मंसिर ११ गते बलात्कार गरेको भन्दै उनकै भक्त एक महिलाले किटानी जाहेरी दिइन् । सुनसरीको चतराधाम आश्रममा बस्ने सिद्धबाबाले आफ्नो आश्रममा बोलाएर आफूले भनेअनुसार नगरे अनिष्ट हुने भन्दै जबरर्जस्ती करणी गरेका थिए । जबरर्जस्ती करणी मुद्दा दर्ता भएपछि जिल्ला आदालत सुनसरीले सिद्धबाबालाई पक्राउ गर्न अनुमति दियो । उनीविरुद्ध पर्याप्त प्रमाण हुँदा हुँदै “सहमतिमा भएको शारीरिक सम्बन्धलाई जबर्जस्ती करणी भन्न नमिल्ने” भन्दै अदालतले एकतर्फी बहसपछि विवादित फैसला गरेको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालतको एकतर्फी फैसालाविरुद्ध २०७७ चैत्र २ गते उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता गराएको थियो । जहाँ यो मुद्दा विचाराधीन छ । मुद्दाका विषयमा उच्च अदालत विराटनगरले २०७९ असारमा न्यायिक टिप्पणी गर्दै न्यायाधीश अर्जुन कोइरालाले ‘प्रमाण नै नबुझी फैसला गरेको’ भनेको छ ।
बलात्कार आरोपको मुद्दा खेपिरहेका यिनै सिद्धबाबाले २०७९ साउनमा पशुपति मन्दिर परिसरमा ‘अतिरुद्र महायज्ञ’ नामको धार्मिक मेलासमेत चलाएका थिए ।

३. श्री विजय कृष्णमूर्ति महाराज

पशुपति परिसरमा कोटीहोम महायज्ञका प्रमुख संकल्पकर्ता हुन् विवादित बिजय भण्डारी उर्फ बिजय कृष्णमूर्ति जी महाराज ।
भिजिट भिषामा विदेश पठाउनेदेखि धार्मिक कार्यक्रममा अमेरिका लैजाने भन्दै करोडौं रकम ठगी गरेको आरोपमा पटक पटक पक्राउ परि कारागार समेत चलान भएका उनै महाराज पशुपतिमा नयाँ नामसहित कोटिहोममा देखिए ।
गैरकानूनी रुपमा म्यानपावर सञ्चालन गरेर खुल्लमखुल्ला अपराध गर्ने यी महाराजलाई जे गर्न पनि छुट छ । कहिले धर्मका नाममा त कहिले वैदेशिक रोजगारीका नाममा भण्डारी ठगि गर्दै आएका छन् । २०७३ मंसिर ६ गते अदालतले उनलाई ठगी मुद्दामा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल र ८१ लाख ८५ हजार जरिवानासमेत तोकेको थियो । यसरी ठगी मुद्दामा कारागार बसेका भण्डारी अहिले पनि ठगी धन्दामा चलाईरहेका छन्।

 

४. रिम्पोछे छुल्ठिम दोर्जे

२०७४ असोज १९ गते बलात्कारको आरोपमा काठमाडौंको दक्षिणकाली बोसन गाउँस्थित पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बाका रिम्पोछे छुल्ठिम दोर्जे योञ्जन पक्राउ परेका थिए । झारफुक गर्न गुम्बामा आएका युवतीमाथि उनले करणी गरको आरोप लागेको थियो ।
सोही वर्षको मंसिर ५ गते उनीविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंले २०७५ असोज १५ गते उनलाई साइबर अपराध मुद्दामा ५० हजार जरिवाना र पीडितलाई १ लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला गर्याे । २०७६ असोज २९ गते उच्च अदालत पाटनले करणीकै कसुरमा दोषी ठहर गर्दै ७ वर्ष कैद र पीडितलाई ३० लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।

५.उत्तम भट्ट जी महाराज

यस्तै अर्का ठग महाराज हुन् उत्तम भट्टजी महाराज । धर्मका नाममा विभिन्न स्थानमा बालतपस्वीको नाममा भागवत वाचन गर्दै हिड्ने धादिङका पण्डितले ६० लाख भन्दा बढी रकम ठगी गरेका थिए । धादिङको ज्वालामूखी गाउँपालिका–४ ढोलाका यी महाराजले नुवाकोट लिखु गाउँपालिका–५ की होमकुमारी ओझालाई ६२ लाख रुपैयाँ ठगी गरेका थिए । २०७० सालमा यी महाराले व्यक्तिगत प्रयोजनका लागि भन्दै १२ लाख र बाँकी सप्ताह लगाएको ठाउँमा व्यवस्थापनमा भन्दै उक्त रकम लिएका थिए । पटक पटक पनि पैसा फिर्ता माग्दा नदिएपछि २०७४ पुस ३० मा आउने असार मसान्तभित्रै पैसा दिने तमसुक गरेका थिए । तर उनले रकम फिर्ता गर्नुको साटो उल्टै पीडितलाई ज्यान मार्ने धम्की दिएपछि उनी मिडियामासमेत आएकी थिइन् ।

६. बसन्त बलम्पाकी

२०७५ जेठ ५ गते बर्दिबास नगरपालिका–३ भब्सीस्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका प्रमुख पूजारी बसन्त बलम्पाकी हात हतियारसहित पक्राउ परेका थिए । भोले बाबाको भेषमा आपराधिक तथा यौनजन्य क्रियाकलाप गरेको आरोपमा उनलाई प्रहरीले चार थान खुकुरीसहित पक्राउ गरेको थियो ।

उनीमाथि झारफुकको लागि मन्दिर पुग्ने मानसिक रोगीलाई गाँजा खुवाउने, निगार खुवाउने, त्यसले नपुगे बेहोस बनाएर कुटपिट गरी उपचार गर्ने गरेको आरोप लागेको थियो । यतिमात्र होइन झारफुकको लागि मन्दिरमा पुग्ने युवतीलाई महिनौं राखेर यौन शोषण गरेको आरोप पनि लागेको छ ।

७. धर्मगुरु मौलवी

२०७७ मंसिर ११ गते झारफुकको नाममा बलात्कार गरेको आरोपमा सिरहाको लहानबाट मुस्लिम धर्मगुरु मौलवी (हजरत) पक्राउ परेका थिए । लहान– ७ का मुस्लिम युवती समान्य बिरामी परेपछि आफ्नो जातीय धर्मगुरुसँग झारफुक गराउन मौलवीका डेरामा पुगेका थिए । मौलवीले झारफुकको नाममा बलात्कार गरेको भन्दै उनी प्रहरीमा पुगेका थिए ।

८.आचार्य श्री निवास

२०७५ वैशाख २४ गते हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परे । ०७४ चैत २४ मा आचार्यमाथि गोली प्रहार भएको थियो । तर अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई प्रक्राउ गरिएको थियो । उनले धार्मिक दंगा गराउन आफैलाई गोली हानेका थिए । यस्तै पछिल्लो समय दुर्गा प्रसाई नेतृत्वको “राष्ट्र, राष्ट्रिष्यता, धर्म, संस्कृति र नागरिक बताउँ महाअभियान”मा सहभागी भएका आचार्य श्रीनिवासले त्रिशुल लिएर सडकमा निस्केको र अराजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका थिए ।

९. ध्रुवबाबा जोशी

२०७६ पुस २७ ललितपुरस्थित आशा विश्वासी चर्चका पास्टर विश्वास भनिने ध्रुवबाबा जोशी बलात्कार आरोपमा पक्राउ परेका थिए । उनीमाथि ‘पास्टरसँग शारीरिक सम्बन्ध राखेमा परमेश्वरले पापबाट मुक्ति दिलाउनुहुन्छ’ भन्दै अनुयायीलाई पटकपटक करणी गरेको आरोप लागेको छ ।

उनले सोही वर्षको कात्तिकमा चापागाउँस्थित एक गेस्टहाउस र पुसमा युवतीकै कस्मेटिक पसलमा गएर करणी गरेका थिए । जोशीले ‘परमेश्वरको आदेश छ, मसँग शारीरिक सम्बन्ध राखे पापबाट मुक्ति मिल्छ’ भन्दै बारम्बार करणी गरेका थिए ।

१०. छत्रबहादुर गुरुङ

२०७६ जेठ १४ गते बलात्कार आरोपमा इलामको रोङ गाउँपालिका–३ का धर्मगुरु छत्रबहादुर गुरुङ पक्राउ परेका थिए । उनी आफूलाई ‘छत्रबहादुर गिरी’ भनेर ७ वर्षदेखि कोटीहोममा बस्दै आएका थिए । साधुको भेषमा शिव मन्दिरमा बस्दै आएका उनले महिलालाई डर देखाउँदै बारम्बार बलात्कार गरेको आरोप लागेको थियो । एक सहयोगी महिलाले विभिन्न धार्मिक कार्यक्रममा जाँदा र कोटीहोममै पनि धर्मगुरु गुरुङले आफूलाई बारम्बार बलात्कार गरेको महिला अधिकारकर्मीलाई बताएका थिए । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

११. मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी विवादित पात्र हुन् । प्रहरीको पक्राउ सूचीमा रहेका ठगलाई भागाउनेदेखि निर्वाचनको मौन अवधिमा पैसा बाड्नेसम्मका उनका कर्तुत छन् । २०७९ भदौमा मियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआइपी कक्ष दुरुपयोग गरेर ठगीका आरोपीलाई भगाएका थिए । उनले दुबईबाट आएका रिजवान आलमलाई पक्राउ गर्न नदिएर आफ्ना पाहुना भन्दै राहदानीमा अराइभलको छाप समेत लगाउन दिएका थिएनन् । पछि उनले आफ्नै गाडीमा राखेर विमानस्थलबाट बाहिर निकालेर अध्यागमन कानुन समेत उलङ्घन गरेका थिए । तत्कालिन समयमा उनको अपराधी भगाएको भन्दै चर्काे विरोध समेत भएको थियो ।
एक करोड ६८ लाख रुपैयाँ ठगीमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएका आलम पछि होटल मेरियटमा फेला परे । गत स्थानीय तहको निर्वाचनमा मियाले जनकपुर पुगेर पैसा बाँडेका थिए । मौन अवधिमा जनकपुर पुगेका उनलाई होटलमा एमालेका स्थानीय कार्यकर्ताहरुले घेरेपछि प्रहरीले नै हस्तक्षेप गरेर उद्धार गर्नु परेको थियो । यी त भए उनका सामान्य विवाद । उनी नेपाली नागरिकता अनि शैक्षिक प्रमाण पत्र नै नक्कली भएको गम्भीर आरोप छ । तत्कालिन नेकपा नेतृत्वको सरकारबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको कोटामा उनी मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका थिए । सिफारिस भए लगत्तै उनको नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्र विवादमा आयो । उनीविरुद्ध संसदीय छानबिन समितिमा उजुरी परे पनि यस विषयमा कुनै सुनुवाई भएन । उजुरीमा अन्सारीको जन्म भारतको विहार राज्यअन्र्तगत मोतीहारी जिल्लाको पहाडपुर थानाग्राममा भएको र उनले नेपालमा नक्कली आमाबुवा बनाएर काठमाडौंबाट नागरिकता दिएको दाबी गरिएको थियो । पछि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले आयोगको अध्यक्षमा मियालाई नियुक्त गरेर शपथ खुवाइन् ।

१२. सीबी गहतराज

गत मंसिर २६ मा ख्रीस्टियन धर्मगुरु चरीबहादुर (सीबी)गहतराज पक्राउ परे । ख्रीष्टियन महासंघका अध्यक्षसमेत रहेका धर्मगुरु गहतराजले प्रयोग गर्दै आएको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उलाई प्रक्राउ गरेको थियो । २७ भदौं २०८० मा त्रिविले पठाएको पत्रमा चरीबहानुर गहतराज रजिष्ट्रेशन नम्बर ९७–०१–१४–०२६–१९९४० को स्नातक डिग्रीको ट्रान्सक्रिप्ट, माइग्रेशन र प्रोभिजनल सर्टिफिकेट रेकर्ड भिडाई हेर्दा मेल नखाएको जनाएको थियो । चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसबाट २०५५ सालमा प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएको थियो । उनी योसँगै पटक पटक विवादमा पर्दै अएका छन् । धर्मगुरु गहतराजले कुनै समय महान अभियान भन्ने पत्रिकासमेत चलाएका थिए । उनी आफैँ सम्पादक रहेको उक्त पत्रिका दर्ता गर्ने समयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र सूचना विभागमा पेस गरेका शैक्षिक कागजात नक्कली भएको खुलाशा भएको हो । पछि संस्थामा भ्रष्टाचार र अपारदर्शिता भएको भन्दै गहतराज बर्खास्तमा समेत परेका थिए ।
१३. स्वामी शिवानन्द
२०७६ पुस २८ गते युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने स्वामी शिवानन्द बाबा भनिने दीपक भण्डारी पक्राउ पनि परेका थिए । उनले चार जनालाई युरोप लगिदिन्छु भन्दै ३० लाख रुपैयाँ ठगी गरेका थिए ।

१४. पुरुषोत्तम काफ्ले
२०८० असार १२ गते नारी शक्तिको जागरण गराउने भन्दै करिब पाँच करोड र एक सय तोलाभन्दा बढी सुन ठगी गरेको अभियोगमा दोलखाका शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्ले पक्राउ परेका थिए । उनले काठमाडौँस्थित हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली पीडितलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस्थाको सदस्य बनाउने, धेरै मुनाफाको प्रलोभन देखाउने गरेका थिए ।

१५. गोविन्द रिन्बोचे
२०७६ फागुन २२ गते किशोरीमाथि यौन दुराचार गरेको आरोपमा बौद्ध धर्मगुरु अस्ट्रेलियन नागरिक गोविन्द रिन्बोचे पक्राउ परेका थिए ।
उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिकाको कदम्बा बुद्धिष्ट प्रतिष्ठानबाट पक्राउ गरेको थियो । उनले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो ।

माथि उल्लेखित घटना त धार्मिक आवरणमा हुने गरेका अपराधका केही उदाहरण मात्र हुन् । प्रहरीको अपराध अभिलेखअनुसार मन्दिरका पुजारी, चर्चका पास्टर, गुम्बाका रिम्पोछेलगायत समावेश छन्। हत्या, बलात्कार, ठगीजस्ता अपराधमा धार्मिक गुरुहरु थपिने क्रम जारी छ । धर्मका नाममा धर्मकै आडमा यसरी धर्मका रक्षक मानिएका धर्मगुरुहरुका कारण अहिले सर्वसाधारणमा धर्मप्रति अराजकता बढ्दै गएको पाईन्छ।

 

तस्बिर स्राेत : सामाजिक संजाल र गुगल