नेपाल बैंकमा २४ करोड रुपैयाँ कर्जा घोटाला : भ्रष्टाचार गर्नेलाई सीईओ पाण्डेको संरक्षण !

दियोपोस्ट संवाददाता

काठमाडौं । सरकारको स्वामित्व रहेको नेपाल बैंकभित्र नक्कली ऋणी खडा गरि कर्जा हिनामिना गर्ने गरेको तथ्य भेटिएको छ । यस्तो गम्भिर घटनामा संलग्नलाई कारबाही गर्नुको सट्टा प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले उन्मुक्ति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।
बैंकको प्रधान कार्यालय अन्तर्गत निरिक्षण तथा आन्तरिक लेखा परिक्षण विभागले रौतहटको समनपुर शाखाबाट भएको कर्जा हिनामिनामा संलग्नहरुलाई कारबाही गर्नुको सट्टा उन्मुक्ति दिइएको पाइएको हो । यसरी रकम हिनामिना प्रकरणमा मुछिएका तत्कालिन शाखा प्रमुख रविन्द्र प्रसाद जयसवाललाई उन्मुक्ति दिएको पाइएको हो ।
अनुसन्धानमा देखिएको विवरण अनुसार विभिन्न ५४ वटा शिर्षकका कर्जामा २४ करोड ८१ लाख ८९ हजा रुपैयाँ कर्जा हिनामिना भएको छ । त्यस्तै लगानी गर्दा भौतिक रुपमा व्यावसाय नै नरहेका कर्जा संख्या नै २३ वटा रहेको देखिएको छ ।

त्यस्ता भौतिक रुपमा व्यावसाय नै नरहेका क्षेत्रमा समेत ५ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ । परियोजना बन्द भएका १९ वटा शिर्षकमा मात्रै १५ करोड ५४ लाख भन्दा बढी कर्जा भएको छ ।

त्यस्तै भौतिक रुपमा कमजोर परियोजना भएको शिर्षकमा मात्रै ४ करोड रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ । धितो अधिक मुल्यांकन गरेर मात्रै १२ शिर्षकमा कर्जा प्रवाह भएको देखिएको छ । जसमा ७ करोड १५ लाख रुपैयाँ हिनामिना भएको अध्ययनमा देखिएको छ । यसो गरिएबापत ग्राहकबाट १ कराड ५४ लाख रुपैयाँ अनुचित लाभ लिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रमुख आन्तरिक लेखा परिक्षक खड्गसिंह मोक्तानले विभिन्न ७ बुँदे निष्कर्श निकाल्दै हिनामिना भएको प्रतिवेदनमा उल्लेख गरेको छ । नक्कली व्यावसाय खडा गर्न लगाई ग्राहकलाई कर्जा प्रदान गरेको गराएको, धितो सुरक्षणको अधिक मुल्यांकन गरे गराएको, ग्राहकहरुबाट कर्जा लगानी गरेबापत अवाञ्चित रकम घुस लिएको, व्यावसाय नै संचालन नरहेको फर्महरुको स्थलगत निरिक्षण प्रतिवेदनमा झूटो विवरण राखी कर्जा लगानी गर्नुको साथै नविकरण समेत नगरेको निष्र्कर्श निकालेको छ ।

त्यस्तै शाखा प्रमुख जयसवालले आफ्नै भिनाजु पर्ने ईन्जिनियरबाट कर्जा ग्राहकहरुको सुरक्षण मुल्यांकन गराई अधिक कर्जा प्रवाह गरेको र सो बापत ग्राहकहरुबाट रकम असुली गरेको निष्कर्श समेत आन्तरिक अनुसन्धान प्रतिवेदनले निकालेको छ । त्यस्तै नक्कली रोक्का तथा दृष्टिबन्धक गरेको हुनसक्ने भएकाले संलग्न सम्पूर्ण कर्जाहरुको सम्बन्धित मालपोत कार्यालयबाट यकिन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

२०८० फागुन १८ गते बसेको नेपाल बैंक संचालक समिति बैठकले समनपुर शाखाको विशेष स्थलगत प्रतिवेदन अनुसार कारबाही गर्ने निर्णय समेत गरेको थियो । तर, संचालक समितिको बैठकलाई नै लत्याएर बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले हिनामिना गर्ने शाखा प्रमुखलाई कारबाही गर्न आलटाल गर्दै आएका छन् ।
पाण्डे मात्रै होइन यो हिनामिनामा प्रधान कार्यालयमा कार्यरत उच्च अधिकारीहरु प्रविनबाबु घिमिरे र कर्जा विवाग हेर्ने लक्ष्मण पौडेलको समेत मिलेमतोमा बैंकिङ कसुर जन्य गतिविधि भएको हो । बैंकिङ कसुरमै संलग्न भएपनि प्रमुख कार्यकारी अधिकृत पाण्डेले शाखा प्रबन्धक जयसवाललाई कारबाही नै नगरी सरुवा गरेर मात्रै छाडेका थिए ।

सीईओ पाण्डे लगायत तीन पदाधिकारी विरुद्ध अख्तियारमा उजुरी

यसैबीच नेपाल बैंक भित्र भएको यो घोटाला र बैंकिङ कसुर अपराधबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । गत साउन २८ गते सीईओ पाण्डे तत्कालिन एमएसएमई विभाग प्रमुख प्रविन बाबु घिमिरे र कर्जा विभाग प्रमुख लक्ष्मण पौडेलको मिलेमतोमा भ्रष्टाचार र बैंकिङ कसुर जन्य कार्य भएको भन्दै उजुरी परेको हो ।

सम्पर्कमा आएनन् प्रवक्ता खड्का

समनपुर शाखामा उच्च अधिकारीको मिलेमतोमा भएको भ्रष्ट्राचारबारे प्रश्न गर्न नेपाल बैंकका प्रवक्ता होम बहादुर खड्कालाई पटक पटक फोन गर्दा उनले फोन उठाएनन् ।