विपद्को समयमा स्वास्थ्यकर्मीलाई बिदा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपद्को विषम परिस्थितिलाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि उत्पन्न परिस्थितिमा खोज, उद्धार तथा उपचार कार्यलाई प्रभावकारी बनाउन मन्त्रालयले मातहतका सबै निकाय, विभाग, अस्पताल तथा प्रतिष्ठानलाई पूर्ण रूपमा परिचालन हुन निर्देशन दिएको हो।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाका दिनमा समेत खोज, उद्धार तथा उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएको जनाएको छ।

मन्त्रीस्तरीय संयोजकत्वमा बसेको उच्च व्यवस्थापन समूहको बैठकको निर्णयअनुसार विपद् व्यवस्थापनको कार्य सम्पन्न नभएसम्म कर्मचारीको बिदा तथा काज स्वीकृतिमा रोक लगाइएको मन्त्रालयले जनाएको छ। अत्यावश्यक तथा विशेष कारणबाहेक अन्य अवस्थामा कुनै पनि कर्मचारीलाई बिदा वा काज स्वीकृत नगर्न निर्देशन दिइएको छ।