
काठमाडौँ । नेपाली काँग्रेसले अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन सरकारसँग माग गरेको छ । शनिबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्दै काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बेपत्ताको खोजी कार्यलाई तीव्र बनाउन अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन सरकारसँग माग गरेका हुन् ।
सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फसेको सम्भावना रहेकाले उनीहरूको जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिन माग गरिएको आङ्देम्बेले बताए ।
साथै उनले सेनाले गरिरहेको उद्धार कार्य सराहनीय रहेको भन्दै रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न समेत माग गरिएको उल्लेख गरे । बाढीले बगाएर ल्याएका शवहरू यत्रतत्र रहेकाले स्थलगत खोज तथा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, शव पहिचान र उचित व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
छलफलका क्रममा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनले रसुवा, नुवाकोट र धादिङका अवरुद्ध सडक सफा गरी आवागमन सुचारु गर्नुपर्ने, अवरुद्ध विद्युत् तथा टेलिफोन सेवा सञ्चालन गरी उद्धार, राहत र समन्वयलाई सहज बनाउनुपर्ने, स्थानीय तहसँग प्रभावकारी समन्वय गर्नुपर्ने लगाएतमा माग राखेका छन् ।