रवि लामिछानेलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

दियो पोस्ट  

चितवन,साउन ३१ । टेलिभिजन संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।

प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । अदालतसँग प्रहरीले १० दिनको समय मागेकोमा ५ दिन म्याद पाएको हो । ‘हामीले १० दिनको म्याद मागेको थियौं, सम्मानित अदालतले ५ दिन म्याद थपेको छ। हामी घटनाबारे अनुसन्धान गरिरहेका छौ‌’, एक प्रहरी अधिकारीले भने ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । लामिछानेसहित तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो । लामिछाने पक्राउको विरोधमा शुक्रबार उनका समर्थकले चितवनमा प्रदर्शन समेत गरेका थिए ।