काठमाडौं,साउन ३१। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन प्रस्ताव गरेका छन् ।
स्रोतका अनुसार अध्यक्ष ओलीले प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन र पार्टी एकता गर्नुपूर्वको सहमति अनुसार प्रधानमन्त्री छाड्नसमेत तयार भएका छन् । शुक्रबार सचिवालय बैठक बस्नुपूर्व दुई अध्यक्षबीच भएको भेटमा अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन् । स्रोत भन्छ – अध्यक्ष ओलीको यो प्रस्तावसँगै अध्यक्ष प्रचण्ड स्कूल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिन तयार भएका हुन् । यद्यपि, यसबारे प्रधानमन्त्री ओली भदौ पहिलो साता सिंगापुरमा स्वास्थ्य उपचार गरेर फर्केसँगै ठोस निर्णय हुने बताइएको छ ।
यो प्रस्तावमा सहमति भए प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष बन्नेछन् । यस्तै अध्यक्षद्वयको निर्णयसँगै वरिष्ठ नेताको मर्यादाक्रममा पहिलो वरियता रहेका नेता माधवकुमार नेपाललाई हटाएर दोस्रो वरियतामा रहेका नेता झलनाथ खनाललाई ल्याउने प्रस्ताव पनि अघि सारिएको छ । अध्यक्षद्वयको यो निर्णयसँगै वरिष्ठ नेता नेपाल भने असन्तुष्ट बनेका छन् ।