एनआईसी एशिया बैंकमा न्यौपाने र खनियाको ‘कमाउधन्दा’ : अदालतले रोकेको घरजग्गा टेन्डर !

दियो पोस्ट  

काठमाडौं, ३२ साउन । चर्चामा रहेको एनआईसी एशिया बैंकले डरलाग्दो आर्थिक अपराध गर्ने गरेको तथ्य भेटिएको छ । लिलाम बदरको लागि अदालतमा मुद्दा चलिरहेको घर जग्गा बैंकका उच्च अधिकारीले बेच विखनका लागि टेन्डर गरेर धरौटीको रकम भने पचाउने गरेको पाइएको छ ।


बैंकका सिइओ रोशन न्यौपाने, विजनेश प्रमुख अर्जुन खनियाको मिलेमतोमा लिलाम बदरमा मुद्दा परेको जग्गा बेचविखनका नाममा ठगी हुने गरेको पाइएको हो ।

सिइओ रोशन न्यौपाने


काठमाडौं महानगरपालिका वडा नम्बर १६ म्हेपीको वडा नम्बर १६ कित्ता नम्बर ७६३ मा रहेको २१०.६१ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको एक घरलाई लिलाम बदरमा मुद्दा चल्दा चल्दै ठेक्का खोली ठेक्का परेको नाटक गरी धरौटी बापतको रकम ठगी भएको पाइएको छ ।


बैंकका कर्जा असुली विभागका प्रमुख समेत रहेका खनियाको प्रत्यक्ष समलग्नतामा यस्तो धन्दा नै हुने गरेको पाइएको हो ।


काठमाडौंको म्हेपी घर भएका महेन्द्र मिश्रको करोडौंको घर जग्गा लिलाम गरेपछि लिलाम विरुद्ध अदालत गएका मिश्रको जग्गा बैंकले मुद्दा चल्दै गर्दा विक्रीको लागि टेन्डर खोलेको पाइएको छ ।
‘मैले ७ वर्षे अवधिका लागि एनआईसि एशिया बैंकबाट ऋण लिएको थिएँ । तर एक वर्षमै लिलामी गरिदियो । मैले पैसा पनि राखिरहेको छु,’ पीडित महेन्द्र मिश्रले दियोपोस्टसँग भने,‘मैले एक करोड चालिस लाख बुझाइसकेको छु । मैले साँढे चार करोडा ऋण लिएको थिएँ । एक वर्षमा डेढ करोड बुझाएँ । बुझाउँदै गर्दा घर लिलामी गरिदियो ।’


उनका अनुसार पत्रिकामा लिलामीको सुचना निकालेपछि पनि चालिस देखि ५० लाख रुपैयाँका दरले बैंकले ब्याज जोड्दै लगेको छ ।


त्यतिमात्रै होइन घर २ करोड ५० लाख मुल्यांकन गरेर चार करोड ५० लाख ऋण दिएको समेत खुलाशा भएको छ ।


‘मेरो घर २ करोड ५० लाख मुल्यांकन गरियो र मैले ४ करोड ५० लाख ऋण लिएँ,’ पीडित मिश्रले भने,‘तर एक करोड ९० लाखमा मेरो घर नै खाइदियो ।’


घर लिलामी गरेपछि पनि उनले मासिक १० लाख रुपैयाँ बैंकलाई बुझाउँदै आएको समेत बताए ।


काठमाडौं जिल्ला अदालतमा मुद्दा !


बैंकका उच्च अधिकारीको मिलेमतोमा करोडौंको सम्पत्ति हत्याएको भन्दै घरका अन्य सदस्यले लिलाम बदरका लागि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् । पीडित महेन्द्र मिश्रका श्रीमती रिना मिश्रले जिल्ला अदालत काठमाडौंमा बैंक विरुद्ध नै मुद्दा दायर गरेका छन् ।


महेन्द्रले एन्टिक हिमालयन फर्निचर उद्योगको नाममा चार करोड ५० लाख रुपैयाँ ऋण लिएका थिए । गत पुस ४ गते बैंकले उक्त घर लिलामी गरेको थियो । मुलुकी देवानी कार्यविधि संहिता ऐन २०७४ को दफा १५६ अनुसार जग्गा रोक्का राखी पाउँ भन्दै पीडित पक्षले मुद्दा दायर गरेको थियो । जिल्ला अदालत काठमाडौंले २०७५ चैत्र १छ गते जग्गा रोक्का राख्न आदेश दिएको थियो । तर रोक्का रहेको जग्गा पनि बैंकले भने अर्को व्यक्तिलाई बेच्न टेन्डर खोलेको र टेन्डरमा आएका एक व्यावसायीको धरौटी बापतको २४ लाख ५० हजार ठगी गरेको स्रोतले बतायो ।


यसरी लिलाम बदरमा परेका अन्य जग्गाहरु समेत बैंकका अर्जुन खनिया र सिइओ रोशन न्यौपानेको मिलेमतोमा बेचविखनका लागि टेन्डर आह्वान गर्ने र धरौटी बापतको रकम भने ठगी गर्ने गरेको बैंककै एक अधिकारीले बताए ।