रवि लामिछानेको सम्पत्ती श्रोतको छानविन गर्न राष्ट्रिय युवा संघ नेपालका सहसंयोजकको माग

दियो पोस्ट  

काठमाडौँ, साउन ३२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले संचारकर्मी रवि लामिछानेको सम्पत्ती श्रोतको छानविन गर्न माग गरेका छन् । युवा संघ नेपालका पुर्व अध्यक्षसमेत रहेका पौडेलले रवि लामिछाने प्रहरी हिरासतमा रहँदै गर्दा उनको सम्पत्ती श्रोतको छानविन हुनुपर्ने माग गरेका हुन् ।

शनिबार साँझ सामाजिक संजाल फेसबुकमार्फत पौडेलले लामिछानेको सम्पत्ती छानविन गर्न माग गरेका हुन् । माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गराएका भिडियोमा समेत रवि लामिछानेले धम्क्याएर विभिन्न उद्योग बाट आर्थिक लाभ लिएको बताएका थिए ।

पुडासैनीको भिडियो र रुकू भनिने अस्मिता कार्कीको वयानको आधारमा संचारकर्मी रवि लामिछानेलाई विहीबार पक्राउ गरि अनुसन्धानको लागि चितवन पुर्याइएको छ । रविको पक्राउको विरोध गर्दै चितवन जिल्ला प्रहरी कार्यलय अगाडी जनसागर उर्लिएको छ भने सामाजिक संजालमा समेत रविको पक्राउको बारेमा बहस चल्न थालेको छ ।