काठमाडौं,भदौ १ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारको लागि भन्दै पुनः सिंगापुर जाने भएका छन् । साउन २७ गतेमात्रै उपचार गरेर फर्केका ओली त्यसको फलोअप भन्दै पुन सिंगापुर जान लागेको सरकारी उच्च स्रोतले बताएको छ ।
अधिल्लो साता उपचारको क्रममा चढाइएको औषधीको प्रभावबारे पुन परिक्षणका लागि प्रधानमन्त्री ओली भदौ ४ या ५ गते सिंगापुर जान लागेका हुन् । गत साउन १८ गते स्वास्थ्योपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई लिएर चौतर्फी चिन्ता बढेको थियो ।
सिंगापुरमा ९ दिन सम्म उपचार गराएर स्वदेश फर्किएका प्रधानमन्त्रीले संचारकर्मीहरुसंग समेत कुरा गरेनन् । सिधै निवास पुगेर ट्वीट गर्दै आफु स्वस्थ भएको जानकारी गराएका थिए ।
सिंगापुर फर्केपछि प्रधानमन्त्री ओलीले पार्टीमा रिक्त अवस्थामा रहेका करिब आधा दर्जन विभागको जिम्मेवारी समेत टुंग्याएका छन् । उपचार बाट फर्कनेबित्तिकै सक्रिय रुपमा पार्टीभित्र विवादीत बनेका विभागहरुलाई समेत टुंगोमा पुर्याएका छन् ।
त्यस्तै वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावमा समेत छलफल चलाएका छन् । यसअघि ओली र गौतमबिच भएको भनिएको तिक्तता प्रधानमन्त्री ओली सिंगापुरबाट फर्किएपछि सम्वन्धमा सुधार भएको समेत पाइएको छ ।
प्रधानमन्त्री ओलीले १२ बर्षअघि मात्र मिर्गौला प्र्रत्यारोपण गरेका थिए । सोहीको नियमित उपचारका लागि ओली सिंगापुर पुग्ने गर्छन् । दोस्रोपटक सिंगापुर जाँदा प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यवाहक अध्यक्ष सुम्पेर जान लागेका हुन् ।