काठमाडौँ, भदौ २ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि एक पसलबाट डोरी किनेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार नारायणगढको एक होलसेल पसलबाट पुडासैनीले पाँच मिटर डोरी किनेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यलयका प्रमुख एसएसपी दान बहादुर मल्लले होलसेल पसल नजिकै रहेको अर्को पसलको सीसीटिभी बाट पुडासैनीले डोरी किनेको देखिएको र सोको अनुसन्धानका लागि सिसिटिभीको हार्ड डिस्क नै लिएर प्रहरीले अनुसन्धान थालेको छ ।
पुडासैनीको मृत्यु प्रकरणलाई लिएर सामाजिक संजाल र प्रदर्शनकारीहरुले उनको आत्महत्या नभई हत्या भएको भन्दै आवाज उठाउदै गर्दा घटनामा थप ट्वीस्ट थपिएको हो ।
पुडासैनीको पोस्टमार्टम रिपोर्ट र भिडियोको फरेन्सीक रिपोर्टसमेत जिल्ला प्रहरी कार्यलय चितवनलाई प्राप्त भइसकेको छ । प्रहरी प्रमुख एसएसपी दानबहादुर मल्लले रिपोर्ट आएपछि थप प्रमाणहरु जुटेको बताउँदै घटना अनुसन्धानकै क्रममा भएको कारण अहिले नै रिपोर्टमा के छ भन्ने कुरा सार्वजनिक नगर्ने बताएका छन् ।
पुडासैनी मृत्यु प्रकरणमा संचारकर्मी रवि लामिछानेको कुनै हात नरहेको र उनलाई फसाउन खोजेको भन्दै समर्थकहरु आन्दोलनमा उत्रिएका छन् ।