श्रीमानको हत्या लुकाउन अभियुक्त संग ३ लाख पैसा लिने श्रीमती पक्राउ

दियो पोस्ट  

भोजपुर, भदौ २ । श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् ।

घटनामा संलग्न रहेको आरोपमा अन्य ५ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरबाट धकेलेर हत्या गरेको आरोप छ । घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना लुकाउन अभियुक्तसँग ३ लाख रुपैयाँ मागेको बयानमा उल्लेख छ ।

केही समयपश्चात् मृतक पूर्णबहादुरकी श्रीमती मीनाले मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए ।

स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र विष्णु बयलकोटीले मीनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेको आरोप लागेको छ । रम्तेलसँग मीनाले २ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पतिको हत्याराबाट लिएको सो रकम सदरमुकामस्थित एक सहकारी संस्थामा १ लाख ७० हजार जम्मा गरेको र ३० हजार रुपैयाँ सासूलाई भैँसी किन्न दिएको बयानका क्रममा खुलेको छ । रासस