पोष्टमार्टमा रिपोर्टः भिडियोमा रहेको आवाज पत्रकार पुडासैनीकै भएको पुष्टि, रवि बाहेक २ जनाको बयान सकियो

दियो पोस्ट  

माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । 

पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख रहेको संकेत जिप्रका चितवनका प्रमुख एसपी दानबहादुर मल्लले गरे । ‘पोस्टमार्टम रिपोर्ट आएको छ । मंगलबार सम्पूर्ण रिपोर्ट लिएर म्याद थपका लागि अदालतमा पेस गर्छौँ । रिपोर्टमा हामीले पहिले जे आशंका गरेका थियौँ, त्यही नै भएको उल्लेख छ,’ उनले भने ।

भिडियोमा रहेको आवाज पुडासैनीकै भएको पुष्टि
पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भएको छ । उनको मोबाइलमा विभिन्न पाँचवटा लामा र छोटा भिडियो क्लिप रहेको स्रोतले जनाएको छ ।

नयाँपत्रिका दैनिकले खबर लेखेको छ, फरक–फरक भिडियो क्लिपमा भएकै कारणले पुडासैनीको आवाज फरक सुनिनुका साथै हाउभाउ पनि फरक देखिएको तथा एक अवस्थामा सिरानी रहेको र अर्को अवस्थामा सिरानी नरहेकोजस्तो फरक दृश्य देखिएको अनुसन्धानले देखाएको छ । 

–फरक भिडियो क्लिपमा भएकै कारणले पुडासैनीको आवाज फरक सुनिनुका साथै हाउभाउ पनि फरक देखिएको तथा एक अवस्थामा सिरानी रहेको र अर्को अवस्थामा सिरानी नरहेकोजस्तो फरक दृश्य देखिएको अनुसन्धानले देखाएको छ । 

आत्महत्याका लागि डोरी किनेको पसल पत्ता लाग्याे

पोस्टमार्टम र भिडियो ल्याब दुवै रिपोर्ट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाइ छ । पत्रकार पुडासैनीको मृत्यु प्रकरणसँग जोडिएका प्रमाण संकलनका क्रममा चितवन प्रहरीले सोमबार उनले आत्महत्याका लागि डोरी किनेको पसल पत्ता लगाएको छ । नारायणगढ बसपार्कस्थित एक प्लास्टिक पसलमा गई उनले पाँच मिटर लामो डोरी किनेको सिसिक्यामेरा फुटेजसमेत प्रहरीले लिएको छ ।

पत्रकार पुडासैनीको मृत्यु प्रकरणसँग जोडिएका प्रमाण संकलनका क्रममा चितवन प्रहरीले सोमबार उनले आत्महत्याका लागि डोरी किनेको पसल पत्ता लगाएको छ । नारायणगढ बसपार्कस्थित एक प्लास्टिक पसलमा गई उनले पाँच मिटर लामो डोरी किनेको सिसिक्यामेरा फुटेजसमेत प्रहरीले लिएको छ ।

पुडासैनीको भिडियो हेरेको छैन : रवि 
रवि लामिछानेले सरकारी वकिलसँग पुडासैनीले आफूलाई आरोप लगाएर बोलेको भिडियो अहिलेसम्म नहेरेको बताएका छन् । उनले बयानका क्रममा आफूलाई गाली गरेको र आरोप लगाएको भन्ने अरूबाटै सुनेको, तर भिडियो भने नहेरेको बताएका हुन् । 

पुडासैनी मृत्यु घटनाको अनुसन्धानकै लागि भनेर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एसपी दीपक रेग्मी चितवन आएका छन् । पुडासैनीकी श्रीमतीले आइतबार प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएकी छिन् । त्यो जाहेरी चितवन प्रहरीले पाइसकेको छ । लामिछानेका समर्थकहरूले सोमबार पनि भरतपुरमा प्रदर्शन गरेका छन् । भरतपुर चौबीसकोठीमा प्रदर्शन गर्ने पाँचजनालाई गिरफ्तार गरेको प्रहरीको भनाइ छ । 

बयान लिने क्रम जारी

पत्रकार पुडासैनी आत्महत्या घटनाका आरोपीसँग बयान लिने क्रम जारी छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अस्मिता कार्कीसँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएको छ । तर, लामिछानेसँगको बयान भने अझै नसकिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । 

कँडेल र कार्कीले भने इन्कारी बयान दिएको स्रोतले जनाएको छ । लामिछानेसँग मंगलबार पनि बयान लिइने भएको छ । आरोपीद्वय कँडेल र कार्कीको बयान सकिएपछि लामिछानेसँग सोमबार दिउँसो तीन बजेपछि बयान लिन सुरु गरिएको थियो । बयान बेलुकी ६ बजे स्थगित गरिएको थियो । प्रारम्भिक बयानका क्रममा मृतक पुडासैनीसँगको चिनजान, कामको सिलसिला, व्यवहारबारे लामिछानेसँग जानकारी लिइएको छ ।

बयान नसकिएकाले मंगलबार थप अनुसन्धानका लागि अदालतबाट पुनः म्याद थपिने सम्भावना छ । ‘अनुसन्धानको मिसिल नै तयार भएको छैन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘अनुसन्धान नै नसकीकन कसरी अदालतमा लगेर मुद्दा दर्ता गराउनू ?’ प्रहरीले आरोपीको फोन कल डिटेल र मोबाइल सन्देश लिई अनुसन्धान गरिरहेको छ । ‘चर्चित र गम्भीर प्रकृतिको मुद्दालाई हतार–हतार र हलुका रूपमा बुझाउनु भएन नि,’ ती प्रहरी अधिकृतले भने ।