काठमाडौँ, भदौ ३ । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानविनका क्रममा रहेका ३ जनालाई थप पाँच दिन हिरासतमा राखिने भएको छ । जिल्ला अदालत चितवनले पत्रकार युवराज कँडेल, सिधा कुरा जनतासंग कार्यक्रम प्रस्तोता रवि लामिछाने र रुकु भनिने अस्मिता कार्कीलाई अनुसन्धानकाले लागि थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
मंगलबार सम्म वयान लिने काम भएको र थप अनुसन्धानको लागि ५ दिन म्याद थप गर्न अदालतले अनुमती दिएको चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले बताएका छन् ।
शालिकराम पुडासैनीले आत्महत्या गर्नुपुर्व रेकर्ड गरेका भिडियो सार्वजनिक भएपछि रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरिएको हो । रविको पक्राउमा जिल्ला प्रहरी कार्यलय चितवन सहित देशैभरि विरोधका कार्यक्रमहरु समेत भएका छन् ।
भिडियो शंकास्पद भएको र रविको कुनैपनि हात नभएको भन्दै उनका समर्थकहरुले सडक तताइरहेका छन् ।