भारतीय विदेशमन्त्री काठमाडौंमा

दियो पोस्ट  

काठमाडौं । । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी बुधबार दिउँसो सवा १२ बजे काठमाडौं आइपुगेका हुन् ।

उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए । जयशंकरले बैठक सुरु हुनुभन्दा अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग दिउँसो २ बजे भेटवार्ता गर्ने तय गरिएको छ । त्यससंगै उनले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्नेछन् ।

नेपालले संविधान निर्माण गरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा नेपाल आएका उनी मन्त्री भएपछि फेरि आएका हुन्।

बैठक बुधबार र बिहीबार काठमाडौंमा बस्नेछ । यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो । यो बैठक दुई दिन चल्ने छ। त्यही बैठकमा भएका निर्णय तथा प्रगतिको पुनरवलोकन गर्दै दुई देशको सम्बन्ध नयाँ बाटोमा अगाडि बढाउन काठमाडौँ बैठक महत्वपूर्ण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।