धादिङको मझिमटारबाट ८ किलो गाँजासहित तीनजना पक्राउ

दियो पोस्ट  

धादिङ, भदौ ४ । धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ स्थित मझिमटारबाट ८ किलो पाँच सय ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ७७०२ नम्बरको बस चेकजाँच गर्ने क्रममा अवैध लागुऔषध गाँजासहित कास्की जिल्लाको माछापुच्छ्रे नगरपालिका वडा नम्बर ८ बस्ने सन्जोग सुनारको साथबाट गाँजा भेटिएको हो ।

सन्जोगलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा मलेखुबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ५०४९ नम्बरको स्कुटरमा सवार व्यक्तिहरुको रहेको खुल्यो। उनकै सूचनाको आधारमा स्कुटर चालक स्याङजा जिल्ला चिनिबासका नयन थापामगर र स्कुटर पछाडी बस्ने कास्कीको लेखनाथ महानगरपालिका वडा नम्बर ९ बस्ने संगीत विकलाई जोगीमारा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्ने तीनै जनालाई लागुऔषध ओसार पसार ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डीएसपी रुपक खड्काले जानकारी दिए।

तस्वीरः जिल्ला प्रहरी कार्यलय धादिङको फेसबुक पेजबाट