दमौली, भदौ ५ । डिभिजन सडक कार्यालय दमौलीका प्रमुख विष्णुप्रसाद काफ्ले एक घण्टा कार्यकक्षमा थुनिएका छन् ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्डको हलेदीमा भत्किएको सडकमर्मत गर्ने सहमति कार्यान्वयन नभएको भन्दै शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी क्षेत्रका स्थानीयवासीले कार्यालय प्रमुख काफ्लेसहित इञ्जिनीयर सचिन श्रेष्ठलाई प्रमुखको कार्यकक्षममा राखेर चुकुल लगाएर थुनेका हुन् ।
राजमार्ग जीर्ण भएर ठाउँ–ठाउँमा भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै स्थानीयवासीले गत चैत २४ गते राजमार्ग अवरुद्ध गरेपछि सरोकारवालाको बैठकले तीन महीनाभित्र सडक मर्मतको काम थाल्ने प्रतिबद्धता जनाएको थियो । तर सहमति भएको चार महीना बिते पनि मर्मतको काम शुरु नभएपछि बाध्य भएर कार्यालय प्रमुखलाई कार्यकक्षमै थुन्नुपरेको स्थानीयवासी हरि रिमालले जानकारी दिए ।
घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले आफूहरु आजित भइसकेको रिमालले गुनासो गर्नुभयो । रिमालले कार्यालय प्रमुख र ठेकेदारको मिलेमतोका कारण काम हुन नसकेको आशङ्का व्यक्त गर्नुभयो । दुई वर्षअघि कालोपत्र गरिएको सडकखण्ड भत्किएर खाल्डो परेपछि सोही खाल्डोमा दैनिकजसो दुर्घटना बढेको स्थानीयवासी शङ्कर पन्तले बताए।
“धुलो र हिलोबाट आक्रान्त त भएका छौ नै, साथसाथै दिनदिनै दुर्घटनाको दृश्य हामीले देखिरहेका छौ,” उनले भने, “विगतमा पनि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि माग पूरा हुनसकेको छैन ।”
सडक खाल्डो परेर धुलोको समस्याले स्थानीयवासी बिरामी पर्न थालेको अर्का स्थानीयवासी कृष्ण भुजेलले बताए । उनले भने, “धुलोको समस्याले बिरामी नपरेको यहाँको एउटा पनि घर छैन । धुलोबाट साह्रै आजित भइयो ।”
स्थानीयवासीले सोही क्षेत्रका सांसद केदार सिग्देलको रोहवरमा कार्यालय प्रमुख काफ्लेलाई कार्यकक्ष बाहिर निकालेका थिए । सो अवसरमा सांसद सिग्देलले सडक डिभिजन कार्यालयले गम्भीरतापूर्वक स्थानीयवासीको माग पूरा गर्नुपर्नेमा जोड दिए ।
सडक डिभिजन कार्यालयका प्रमुख काफ्लेले यही भदौ १५ गतेबाट सडक मर्मतको काम शुरु गरिने प्रतिबद्धता जनाए । “त्योभित्र काम शुरु नभए ठेकेदार कम्पनीलाई कारवाही गरेर अर्को ठेक्का लगाउँछौ,” काफ्लेले भने ।
सडकमा बग्ने पानी व्यवस्थापन नभएकोले कालोपत्र गरेपनि सडक टिकाउ हुन नसकेको उहाँले जानकारी दिए । “सडकको पानी कटाउन नसकेकोले यो समस्या भएको हो,” उहाँले भन्नुभयो, “सडकको समस्या समाधान नगरिकन दीर्घकालीन हुँदैन ”
सडक डिभिजन कार्यालयले पुनःस्थापना कार्य अन्तर्गत विसं २०७३ साउन १२ गते रोशन सिद्धगढी जेभीसँग कालोपत्रको सम्झौता गरेको थियो । विसं २०७४ कात्तिक १२ गतेसम्म सम्पन्न गर्ने गरी दोस्रो पटक म्याद थप गरिएको थियो । कार्यालयका इञ्जिनीयर सचिन श्रेष्ठका अनुसार रु दुई करोड ७१ लाख ८८ हजार ८०२ मा ठेक्का लागेको उक्त कार्यको रु एक करोड ४१ लाख ५३ हजार ५३० मात्रै भुक्तानी गरिएको छ ।
“वेससम्मको काम सम्पन्न भएबापत भुक्तानी भएको छ, कालोपत्रको कुनै पनि रकम भुक्तानी गरिएको छैन,” उहाँले भन्नुभयो, “काममा कैफियत भएका कारण नै भुक्तानी रोकेका छौ ।” श्रेष्ठका अनुसार २०७५ चैत २५ गते ठेकेदार कम्पनीलाई सार्वजनिक सूचना जारी गरेर स्पष्टीकरण माग गरिएको थियो ।
एक हप्ताभित्र ठेकेदार कम्पनीले स्पष्टिकरण दिँदै वर्षालगत्तै काम गर्ने प्रतिबद्धता जनाए पनि काम शुरु नभएपछि कार्यालयले विसं २०७६ साउन २९ गते पत्र काटेर चाँडो काम गर्न, नत्र शर्त अनुसारको कारवाही गरिने ठेकेदारलाई जानकारी गराएको थियो ।
“ठेकेदार कम्पनीले १५ गतेभित्र काम शुरु गर्छु भनेको भएर हामीले कुरेर बसेका हौ । त्योभित्र पनि काम नभए ठेक्का तोडेर अर्को ठेक्का लगाउँछौ ।”
छड्केमा ११२ अनुपस्थित
जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लास्थित सरकारी कार्यालयमा आज छड्के निरीक्षण गर्दा ११२ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । सङ्घीय तथा प्रदेशस्तरका २१ सरकारी कार्यालयमा बिहान १० बजेदेखि ११ बजेसम्म छड्के निरीक्षण गर्दा उक्त सङ्ख्यामा कर्मचारी अनुपस्थित रहेको पाइएको हो ।
निरीक्षणका क्रममा सम्बन्धित कार्यालयको २०७५ वैशाख १ देखि हालसम्मको हाजिरी अभिलेख निरीक्षण गर्दा कर्मचारीले लिएको बिदा, काज, सरुवा, बढुवालगायतका अभिलेख उल्लेख नगरेकाले देखिएकोले हाजिरी अभिलेख अद्यावधिक गर्न र जानकारीबिना अनुपस्थित हुने कर्मचारीलाई स्पष्टिकरण लिन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
प्रजिअ पण्डितका अनुसार कर्मचारीले गर्नुपर्ने पोशाकको प्रयोग, परिचयपत्र, नागरिक बडापत्र, सेवाप्रवाह, पदपूर्ति, जनशक्ति व्यवस्थापन, कार्यालयको सरसफाइलगायत सुशासन ऐन तथा नियमावली बमोजिम गर्नुपर्ने विस्तृत अनुगमन तथा निरीक्षण निकट भविष्यमा पुनः सञ्चालन गरिनेछ ।