काठमाडौँ, भदौ ६ । राजधानी भित्रिँदा या राजधानीबाट बाहिरिँदा नागढुंगामा लामो सवारी जाममा फस्नु नौलो कुरा होइन । दुई लेनको मात्र सडक भएको कारण पनि नागढुंगा सडकखण्डमा सवारी जामको समस्या दैनिकजस्तो उत्पन्न भइरहेको हुन्छ । अझै ठुलाठुला मालबाहक सवारीसाधनहरु सडकको बिचमै बिग्रिएर बस्दा लामो समय जाम हुने गर्दछ ।
तर, आगामी दिनहरुमा लामो समयसम्म सवारी जाममा बस्नुपर्ने वाध्यकारी स्थितिको समाधान भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले बिग्रिएका सवारी साधनहरुलाई सडकबाट किनारा लगाउनका लागि शक्तिशाली क्रेन ‘र्याकर’ नागढुंगामा राखेको छ ।
केही दिनअघि मात्र नागढुंगामा राखिएको उक्त क्रेनमा ठुलाठुला सवारी साधनहरुलाई समेत सजिलै संग पार लगाउन सक्ने क्षमता रहेको बताइएको छ । र्याकर प्रयोगमा आइसकेपछि नियमितको सामान्य जाम भएपनि सडकमा बिग्रेर बसेका ठुला सवारी साधनहरुको कारणले हुने लामो समयको जाम भने पुर्ण रुपमा अन्त्य हुने भएको हो ।
नागढुंगामा राखिएको उक्त क्रेनको टेण्डर प्रक्रिया, नम्बर प्लेट दर्ता, ड्राइभरको नियुक्ति लगायतका प्राविधिक तर्फका कामहरु बाँकि भएको र चाँडै नै सबै प्रक्रिया पुरा गरि प्रयोगमा आउने ट्राफिक प्रहरी कार्यलय कलंकीका इन्चार्ज केशव भट्टले दियोपोस्ट संग बताएका छन् । उनले ट्राफिक प्रहरी महाशाखाले यस विषयको पहल गरेको हुँदा थप कामहरु चाँडै हुने विश्वास व्यक्त गरेका छन् ।
फोटो सौजन्यः दिनेश परियार