अस्मिताका दाजु जगत कार्कीले न्यूज–२४ विरुद्ध मुद्धा हाल्ने

दियो पोस्ट  

काठमाडौँ, भदौ ८ । सालिकराम पुडासैनी मृत्यु प्रकरणमा जोडिएकी अस्मिता कार्कीको व्यक्तिगत कुराहरुलाई समेत मिडियाबाजी गरेर व्यक्तिगत गोपनियतामाथि प्रहार गरेको भन्दै उनका दाजु जगत कार्कीले न्यूज–२४ टेलिभिजनविरुद्ध मुद्धा दायर गर्ने तयारी गरेका छन् ।

भिडियोको आधारमा प्रहरीले पक्राउ गरेपनि विभिन्न किसिमका ब्यक्तिगत मेसेजहरुलाई समेत सार्वजनिक गरेर बहिनीको चरित्र हत्या गरिएको भन्दै अस्मिताका दाजु जगतले कानुनी प्रकृयामा जाने बताएका हुन् । उनले न्युज–२४ टेलिभिजनले कानुन बिपरित व्यक्तिगत स्वतन्त्रतामाथि खेलवाड गरेको आरोप लगाएका छन् । न्युज–२४ कै पत्रकारहरुले अस्मिताका नितान्त व्यक्तिगत कुराहरुलाई सामाजिक संजालमा सार्वजनिक गरेकाे उनले बताए ।

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गराएका भिडियोमा अस्मिता कार्कीको नाम लिएपछि गत साउन २० गते उनलाई चितवन प्रहरीले पक्राउ गरेको थियो । उनका दाजु जगतका अनुसार शालिकरामले आफ्नी बहिनीलाई इमोशनल ब्ल्याकमेल गरेर प्रेमजालमा फसाएको, नचाहाँदा नचाहदै पनि सम्वन्धलाई अगाडी बढाएको जस्ता आरोप शालिकराममाथि लगाएका छन् ।

पुडासैनी मृत्यु प्रकरणमा न्युज–२४ टेलिभिजनको चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासंग’ का प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्की प्रहरी हिरासतमा छन् । उनिहरुको अनुसन्धानको क्रममा २ पटकसम्म म्याद थप गरि आइतबार थुनछेक बहस शुरु भएको छ ।