चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीनजना विरुद्ध आज चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ । चितवन प्रहरी र केन्द्रीय अनुसन्धान व्यूरो सिआइबी को टोलीले अनुसन्धान पुरा गरेपछि संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की्विरुद्ध सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।
जिल्ला न्यायधिवक्ता यदु शर्माले प्रहरीको अनुसन्धानबाट प्राप्त सम्पूर्ण विवरण अध्ययन पश्चात चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको बताए । जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको हो ।
अभियोग पत्रमा मुलुकी अपराध संहिता २०७४ को दफा १८५ अनुसार सजाय माग दाबी गरिएको छ । उक्त दफामा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने भनी दुई वटा उपदफा रहेका छन् । पहिलो उपदफामा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’ उनले जिल्ला अदालतमा न्यायधिशबीच गोलाप्रथा पछि बयान सुरु हुने बताए । उनले आजै सबै प्रक्रिया टुंङग्याउन संम्भव नरहेको बताए । उनले भने–‘प्रक्रिया लामो नै छ, बयान पछि थुनछेक बहस हुन्छ, आज मुद्धा टुङिग्ने संभावना कम छ ।’ यदि आज मुद्धाको फैसला हुन नसके तीन जना नै पुनः प्रहरीको हिरासतमा रहने छन् ।
आत्महत्या दुरुत्साहन मुद्धामा दोषी ठहरिए पाँच वर्ष कैद र ५० हजार जरिवाना सजाय हुनेछ । यसअघि आज विहान चितवन प्रहरीले पत्रकार सम्मेलन गरी हिरासतमा रहेका तीनजना विरुद्ध आत्महत्या दुरुत्साहन मुद्धामा अनुसन्धान पुरा गरेको जनाएको थियो । अनुसन्धानको नेतृत्व गरेका सिआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोग अन्तरगत रहेर नै अनुसन्धान पुरा गरिएकोले सोही अनुसार अभियोग दर्ताका लागि सरकारी वकिल कार्यालयलाई फाइल पठाइएको जानकारी दिए ।
दस दिनअघि काठमाडौँबाट पक्राउ परेका लामिछाने, कँडेल र कार्कीलाई चितवन जिल्ला अदालतले सुरुमा पाँच दिन र त्यसपछि गत मंगलबार पुनः पाँच दिनको म्याद थप गरेको थियो । गत मंगलबार रवि लामिछाने र गत सोमबार युवराज कँडेल एवं अस्मिता कार्की रुकुको बयान लिइएको थियो । गएको साउन २० गते नारायणगढमा रहेको होटल कंगारुमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पत्रकार पुुडासैनीले मर्नुअघि आफ्नै आवाजमा रेकर्ड गरेको सुसाइट भिडियो नोटमा रवि, युवराज र अस्मिताको नाम लिएपछि उनीहरु पक्राउ परेका थिए ।