काठमाडौँ, भदौ ८ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दुई पटक सम्म म्याद थप गरेस अनुसन्धान भइसकेपछि समेत रवि लामिछानेलाई प्रहरीले हिरासतमै राखेको भन्दै उनका समर्थकहरुले प्रहरीको निषेधित क्षेत्र तोडेका छन् । आइतबार अनुसन्धानको दशौँ दिन रवि रिहाई हुने भनेर चौतर्फी प्रचार भएपनि अदालतले वयान लिने काम नसकिएको कारण रवि लामिछानेसहित तीन जनालाई हिरासतमै राखेको हो ।
रवि नछुट्ने भएपछि हजारौँ संख्यामा रहेका प्रदर्शनकारीहरु जिल्ला प्रहरी कार्यलय चितवन तर्फ अगाडी बढिरहेको छ । उनिहरुले प्रहरी प्रशासनले रवि लामिछानेलाई फसाउन खोजेको आरोप लगाएका छन् । दुई पटक सम्म म्याद थप गरेर वयान लिइसकेपछि पनि रविलाई नछोडेको भन्दै प्रदर्शनकारीहरुले नाराबाजी गरेका छन् ।
जिल्ला प्रहरी कार्यलय चितवनले सुरक्षा व्यवस्था थप कडा बनाइ सम्भावित घटना हुन नदिनको लागि सादा प्रहरी अधिकारीहरु परिचालन गरेको बताएको छ ।
पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानको म्याद आज सकिएको भएतापनि रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको अभियोग पत्र दायर भएपछि आइतबार समेत हिरासतमा बस्नुपर्ने भएको हो ।
तीन जनाविरुद्ध अभियोगपत्र दायर भएपछि अदलतले थप बयान लिनुपर्ने भएपनि रविको रिहाई रोकिएको हो । अदालतले अस्मिता कार्कीको बयान लिइसकेको छ भने रवि लामिछाने र युवराज कँडेको भने भोली विहान वयान लिइने छ ।
प्रहरीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा अभियोग पत्र दर्ता गराइएको थियो ।
अनुसन्धानको लागि थपिएको म्याद आज सकिने भन्दै सामाजिक सजालमा चर्को प्रचार समेत भएको थियाे।