काठामडौं, भदौ ९ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ।
नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा लामिछानेले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै तदनुरूप मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेपछि सो मुद्दा दर्ता भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रवि लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै उनीहरू तीन जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा १८५ अन्तर्गत मुद्दा चलाउन सिफारिस गरेको थियो।
सीआईबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्नो अनुसन्धान पूरा भएको जानकारी पत्रकार सम्मेलन गरेर दिएका थिए।
मुद्दा दर्ता भइसकेपछि अब चितवन जिल्ला अदालतले अभियुक्तहरूको बयान लिनेछ।
त्यसपछि हुने थुनछेक बहसका आधारमा उनीहरूलाई थुनामा राख्ने, धरौटीमा वा साधारण तारेखमा छोड्ने निर्णय हुनेछ।
आइतवार अभियुक्त अस्मिता कार्कीको बयान सकिएको र सोमवार बिहान १० बजे लामिछाने र कँडेलसँग बयान लिइने अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले बीबीसीलाई बताए।
आत्महत्या दुरुत्साहनको अभियोग प्रमाणित भएमा अभियुक्तहरूलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ।
गत वर्ष भदौदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध (संहिता) ऐनले आत्महत्या गर्न बाध्य पार्नेलाई सजायको व्यवस्था गरेको हो।