पार्टी एकताको १५ महिनापछि प्रचण्डको अध्यक्षतामा पहिलोपटक नेकपा सचिवालय बैठक

दियो पोस्ट  

काठमाडौं, भदौ ९ । पार्टी एकताको १५ महिनापछि पहिलोपटक नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज सोमबार बस्दै छ ।

बैठकको अध्यक्षता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । यसअघिका बैठकको अध्यक्षता प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गर्दै आएका थिए । उनी उपचारका लागि सिंगापुरमा रहेकाले पहिलोपटक एक अध्यक्षको अनुपस्थितिमा अर्का अध्यक्षको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले दाहाललाई उपचारका लागि सिंगापुर जानुअघि पार्टीको बैठक, निर्णयलगायतका काम सहमतिमा गर्न जिम्मेवारी दिएका थिए । सोहीअनुसार अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छलफल गर्दै सचिवालय बैठक बोलाएका हुन् ।

बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, टुंगो लागेको कमिटीलाई सक्रिय बनाउने र जागरण अभियानको विषयमा छलफल गरिने एजेन्डा राखिएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना बित्दा समेत अहिलेसम्म पोलिटव्युरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीसहित केही केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो अझै लागेको छैन ।

सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जनवर्गीय संगठनको नेतृत्व जिम्मेवारी बाँडफाँटलगायतका एकताका काम सकिएको छ । एकता भइसकेको संगठनलाई सक्रिय बनाउने र एकता हुन बाँकी कमिटीको कसरी टुंगो लगाउने भन्ने विषयमै केन्द्रित भई अध्यक्ष प्रचण्ड पछिल्लो समय झन् सक्रिय भएका छन् ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले एकताको बाँकी काम टुंगो लगाउँदै पार्टीले देशैभर जागरण अभियान गर्ने तयारी पार्टीले गरेको छ । एकताको धेरै काम टुंगो लागिसकेको बताउँदै उनले केही बाँकी काम समेतलाई सकेर छिट्टै नै जागरण अभियानको घोषणा गरिने बताए ।

‘सचिवालय बैठक बोलाइएको छ । बैठकमा यही विषयमा छलफल हुनेछ,’ साहले भने, ‘टुंगो लगाउन बाँकी काम सकेर जागरण अभियान कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने रु त्यसको तयारीमा हामी छौं ।’

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीसँग असन्तुष्ट वरिष्ठ नेता नेपाललाई फकाउँदै अध्यक्ष दाहालले एकताको बाँकी काम टुंगो लगाउने तयारीमा जुटेका हुन् । प्रधानमन्त्री ओलीको पार्टी एवं सरकार सञ्चालन शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेता नेपालले सात बुँदे असहमति पत्र पार्टीमा बुझाएका छन् । गत बिहीबार बसेको सचिवालय बैठकमा समेत ओली र नेपालबीच चर्काचर्की भएपछि सम्बन्ध चिसिएको छ ।

ओली र नेपालबीच सम्बन्ध चिसिएसँगै दाहाल सक्रिय भएका हुन् । सचिवालय कमिटीमा तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसाललाई ल्याउनुपर्ने अडानमा नेपाल छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरणपश्चात् नेताहरूको जिम्मेवारी बाँडफाँटमा समेत असन्तुष्ट नेता नेपालले आफ्नो वरीयता हेरफेरमा चित्त दुखाएका छन् ।

नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठनका लागि तत्कालीन एमालेका तर्फबाट नामावली तयार भए पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट नामावली टुंगो लाग्न नसक्दा ढिलाइ भएको छ ।

नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी छन् । पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ अर्थात् १ सय ४७ जनाको पोलिटब्युरो कमिटी बनाउनुपर्छ । जसमा तत्कालीन एमालेलाई ८१ र माओवादीलाई ६६ जना भागबन्डा गर्ने सहमति शीर्ष नेताबीच यसअघि नै भइसकेको छ ।

सम्बन्धित खबर