काठमाडौँ । नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत् सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ ।
नेपालको इतिहासमै पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत् सोमबार दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाले भिडियो कन्फ्रेन्समार्फत बैठक बस्न लागेको हो । बैठकको अध्यक्षता प्रधानमन्त्री ओलीले नै गर्ने भएका छन् ।
नेपालका लागि यो नयाँ प्रयोग भएको मन्त्रीहरुले बताएका छन् । मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रधानमन्त्री बैठकमा प्रत्यक्ष उपस्थित नभएको अवस्थामा समेत भिडियो ‘कन्फरेन्स’लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय भएको थियो ।
नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा संशोधन गरी प्रधानमन्त्री अनुपस्थित भएको अवस्थामा प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था मिलाइएको हो । विगतमा यस्तो परम्परा थिएन ।
लामो समययता मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री ओलीले सिंगापुर बसाई लम्बिने भएको छ । प्रधामन्त्री ओली बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । उनको अहिले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ ।