शालिकराम पुडासैनी आत्महत्या प्रकरण: यस्तो छ अस्मिताको बयान

दियो पोस्ट  

काठमाडौं । मृतक पत्रकार शालिकराम पुडासैनीकी प्रेमीका रुकु भनिने अस्मिता कार्कीले प्रहरी बयानका क्रममा आफूलाई शालिकरामले बारम्बार दुःख दिने गरेको बताएकी छिन् । अदालतमा दिएको बयानमा उनले भनेकी छिन्, “हाम्रो झण्डै एक वर्ष यता आफूहरुको सम्बन्ध सुरु भएपनि आत्महत्याको सात वा आठ दिन पहिले मात्र आफूले शालिकराम विवाहित रहेको सत्य थाह पाएको बताएकी थिँए ।”

विवाहित भएको थाहा पाएपछि ‘मलाई फसायौं’ भनी गाली गरेको उनले बताएकी छिन् । आफ्नो पिछा गर्न छाडिदेउ भन्दा पनि निजले बारम्बार फोन गरि, बाटो छेकी दुःख र हैरानी दिइराखेको उनले अदालती बयानमा उल्लेख गरेकी छिन् । बारम्बारको हैरानी पछि अस्मिताले सो कुरा न्युज २४ मा सिधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामीछाने, पत्रकार युवराज कँडेललाई भनेमा उनीहरुले शालिकरामलाई सम्झाएर आफ्नो पिछा गर्न छुटाईदेलान भन्ने अपेक्षा राखेको बताएकी छिन्।

अस्मिताको वयान
आत्महत्या गर्नु भन्दा चार पाँच दिन पहिले न्युज २४ टिभीका क्यामेरामेन अनिल ढुंगेललाई फोन तथा म्यासेज गरी भेटी रवि लामिछाने समेतलाई सो कुराको जानकारी गराइ दिनु भनी म र मृतक शालिकराम पुडासैनीबीच भएका म्यासेजहरुका केही स्क्रिनसटहरु समेत निज ढुंगेललाई दिएको थिएँ।
भेटपछि न्युज २४ को कार्यालयअघि उभिएको फोटो खिची शालिकरामलाई पठाएको थिएँ।
मैले भेटेको र मैले राखेको कुराबारे क्यामेरामेन अनिलले रवि र युवराजलाई पनि जानकारी गराएको भनेर मलाई भनेका थिए। मसँगको भेटको कुरा आफूले शालिकरामलाई पनि भनेको भनेर अनिलले मलाई भनेका थिए।
शालिक र मबीच भएका म्यासेजका स्क्रिनसटहरु मैले शालिकका नजिकका तीन जना साथीहरुलाई पनि पठाएका थिएँ। त्यस लगत्तै शालिकले मलाई बारम्बार फोन गरे तर, मैले त्यति वास्ता गरिनँ।
साउन २० गते राति साढे १२ बजेतिर क्यामेरामेन अनिलले मलाई फोन गरी शालिकसँग भएका म्यासेजहरु डिलिट नर्गनु भनेका थिए।