काठमाडौँ भदौ ९ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लमिछाने रिहा भएका छन् । सोमबारको थुनछेक बहसपछि लामिछानेसहित ३ जनालाई धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
जिल्ला अदालत चितवनको न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई ५ लाख धरौटी तिरेर तारेखमा रिहा गर्न आदेश गरेको हो । त्यस्तै पत्रकार युवराज कँडेललाई ३ लाख र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश गरेको हो ।
गत २० साउन गते पत्रकार शालिकराम पुडाशैनीले चितवनको नारायणगढस्थित होटल कंगारुमा आत्महत्या गरेका थिए । आत्महत्या अगाडी उनले रेकर्ड गरेको भिडियो सार्वजनिक गरेपछि रवि लामिछाने, पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मीता कार्कीलाई साउन ३० गते पक्राउ गरिएको थियो ।
पक्राउ पछि लगातार २ पटकसम्म म्याद थप गरि जिल्ला प्रहरी कार्यलय चितवनले अनुसन्धान गरेको थियो । अनुसन्धानपछि जिल्ला प्रहरी कार्यलय र प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गर्न रायसहित सरकारी वकिल कार्यलयमा मिसिल बुझाएको थियो ।
जिल्ला अदालत चितवनमा रवि सहित ३ जना विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता भएपछि सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।
रवि लामिछानेले हिरासतबाट निस्किएको तीन मिनेटमा आफुलाई निर्दोष सावित गर्ने अभिव्यक्ति समेत दिएका थिए । रिहा भएपछि रविका समर्थकहरुले सामाजिक संजालमा उत्सव मनाएका छन् ।