रिहा भएपछि रविले भने, ‘ममाथि गर्नुभएको विश्वास कहिल्यै डगमगाउन दिन्नँ’

दियो पोस्ट  

काठमाडौँ, भदौ ९ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफुप्रति जनताले गरेको विश्वास डगमगाउन नदिने दावि गरेका छन् । हिरासतबाट रिहा भएर फेसबुक लाइभमा बोल्दै लामिछानेले आफ्नो समर्थनमा आएका शुभचिन्तकहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

उनले यति धेरै शुभचिन्तकहरुले माया गर्छन भन्ने बारेमा आफु अनभिज्ञ रहेको र आफ्नो रिहाईको माग गर्दै अहोरात्र खटिएका सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले समर्थकहरुको ठुलो भीडले आफुमा थप जिम्मेवारी समेत बढाएको बताएका छन् ।

सहकर्मी युवराज कँडेल र उनकी श्रीमती निकिता पौडेलसहित फेसबुक लाइभमा आएका रविले सबैलाई सम्वोधन गरेर मात्र चितवन छाड्ने योजना रहेको तर व्यवस्थापनको कारणले कसैसंग सार्वजनिक रुपमा भेट गर्न नसकेको बताएका छन् । उनले अदालतले गरेको फैसलाप्रति स्वीकार गर्दै आगामी दिनहरुमा पनि सहयोग गर्न तयार रहेको बताएका छन् ।

अदालतबाट आफु ५ लाख र युवराज ३ लाख धरौटी तिरेर रिहा भएको समेत जानकारी दिएका छन् । अदालतबाट यस विषयमा कार्यक्रम गर्न नपाउने आदेश आएको हुँदा फैसला नहुँदा सम्म पुडासैनी मृत्यु प्रकरणको बारेमा सार्वजनिक रुपमा केही नबोल्ने प्रतिवद्धता समेत गरेका छन् । उनले विदेश भ्रमण जान परेमा समेत अदालतको अनुमती लिनुपर्ने जानकारी गराउँदै आफ्नो नियमित काममा फर्किने बताएका छन् ।

TATA ADD