विवाह गर्छु भनेर पटक पटक बलात्कार, आरोपमा तेज बुढा पक्राउ

दियो पोस्ट  

रुकुमपश्चिम, भदौ १० । विवाह गर्छु भनि एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको चौरजहारी नगरपालिका–५ खहरेका २५ वर्षीय तेज बुढालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

रोल्पाकी १९ वर्षीया एक किशोरीलाई विवाह गर्छु भनि मुसिकोटको बागबजारमा रहेको आफ्नै कोठामा ल्याएर बलात्कार गरेको लिखित जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीकार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार बुढाले किशोरीलाई फेसबुकबाट परिचय गरी यही भदौ ५ गते विवाह गर्छु भन्दै कोठामा ल्याएको र सोही राति १०ः३० बजे बलात्कार गरेको तथा ललाइफकाई दुई दिनसम्म कोठामा राखेको जाहेरीमा उल्लेख छ ।

त्यसपछि यही भदौ ७ गते आफूलाई कोठामा बाहिरबाट ढोका बन्द गरी थुनेर बुढा भागेका र किशोरीले आइतबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरी प्रमुख खड्काले बताए ।

जाहेरीका आधारमा खोजतलास गर्दा मुसिकोटको शेरीगाउँबाट आरोपी बुढालाई पक्राउ गरिएको उहाँले जानकारी दिए ।

उनीमाथि जिल्ला अदालतमा जबरजस्तीकरणी मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।