३ मिनेटमै आफुलाई निर्दोष सावित गराउने घोषणा गरेका रविले भने , ‘अपराधी पत्ता लगाउने काम प्रहरीको हो’

दियो पोस्ट  

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा १० दिन हिरासतमा बसेका रवि लामिछाने सोमबार ५ लाख धरौटीमा रिहा भएका छन् । हिरासत मुक्त भएपछि चितवनमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आफुलाई फसाइएको बताए ।

हिरासतमा रहेका बेला सार्वजनिक भएको एक अडियो अन्तर्वार्तामा लामिछानेले आफू रिहा भए पुडासैनी मृत्युको दोषी तीन मिनेटभित्रै पत्ता लगाइदिने बताएका थिए । यसबारे पत्रकारले सोधेको प्रश्नको जवाफमा रविले त्यसको जिम्मा प्रहरी प्रशासनको भएको र उनीहरुले नसकेमा आफूले वाचा गरेको जिम्मेवारी पूरा गर्ने पनि बताए ।

पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै लामिछानेले आफु राजनीतिमा आउन सक्ने संकेत पनिगरेका छन् । आफ्नो प्राथमिकता पत्रकारीता भए पनि राजनीतिको विकल्प पनि खुला रहेको उनले बताए । उनले मिडियाबाटै राजनीतिक दल र तिनका नेताहरुलाई जिम्मेवार बनाउनु आफ्नो पहिलो प्राथमिकता भएको पनि उल्लेख गरे ।

अन्त्यमा केही नलागेको खण्डमा राजनीतिलाई विकल्पको रुपमा लिन सक्ने उनले बताए । ‘बेथिति र बिसंगतिलाई पर्दाफास गर्ने क्षमता होस् किन गर्नुपर्छ राजनीतिरु तर हुन सकेन, जति गर्दा पनि केही लागेन भने त्यो विकल्प नै होइन, त्यसको बाटो नै छैन भनेरचाहिँ म भन्दिनँ,’ उनले भने, ‘तर अहिले यतिखेरचाहिँ अझ बढी जिम्मेवार भएर खबरदारीमा नै आफूलाई व्यस्त बनाउन चाहान्छौं ।’

उनले भने, ‘राजनीतिज्ञ कस्तो हुनुपर्छ, लिडर कस्तो हुनुपर्छ भनेर आम सर्वसाधारणलाई सचेत गराउन सकेमा र जनताले आफ्नालागि आफ्नो भविष्य कोर्ने राजनीतिज्ञ छान्ने क्षमता राख्नुभयो भने राजनीतिमा हाम्रो कुनै आवश्यकता छैन ।