रवी लामिछानेलाई धरौटीमा छाड्न आदेश दिने न्यायाधीश बोले,‘बन्धन र सिमाहरु निषेधात्मक हुँदैनन’

Diyo post  

काठमाडौं, १० भदौ । न्यायाधीशहरु सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रमहरुमा बोल्दैनन् । त्यसैले न्यायाधीशको पदलाई ‘आइसोलेटेड’ समेत भनिने गरेको छ । तर, चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावल भने सामाजिक सञ्जालमा सक्रिय छन् । उनी बेला बेला आफ्ना धारणाहरु सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिरहन्छन् ।


पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आदेश दिएर चर्चामा आएका रावल यतिबेला चर्चित छन् ।
पुडासैनी आत्महत्यामा दुरुत्साहनको मुद्दा खेपि रहेका टेलिभिजन प्रस्तोता रवी लामिछानेलाई सोमबार ५ लाख र युवराज कँणेललाई ३ लाख धरौटीमा रिहा गरिएको थियो । उक्त आदेशमा रवी लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रम सिधा कुरा जनता मार्फत पुडासैनीको मुद्दाबारे बोल्न नपाउने र विदेश जाँदा समेत अदालतको अनुमति लिनुपर्नेगरी आदेश गरेपछि रावलले फेरी सामाजिक सञ्जाल मार्फत एउटा सन्देश दिएका छन् ।


लामिछानेलाई बन्धक बनाउने गरी रिहाई गरिएको भन्दै आलोचना भएपछि रावलले सोही बारेमा स्ट्याटस लेखेका छन् ।


‘बन्धन र सिमाहरु निषेधात्मक हुँदैनन । मर्यादा भित्रका सिमाहरु मर्यादा बढाउनकै लागि हुन्छन्,’ रावलले लेखेका छन् ।


गत साउन २० गते माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी चितवनको बसपार्क स्थित होटल कंगारुमा झुन्डिएको अवस्थामा फेला परेका थिए । घटनाको ७ ८ दिन वितेपछि उनले आत्महत्या गर्नुअघि रेकर्ड गराएको भिडियो सार्वजनिक भएको थियो ।

भिडियोमा मृतक शालिकराम पुडासैनीले आफूलाई आत्महत्या गर्न रवि लामिछाने, युवराज कँडेल र प्रेमिका अस्मिता कार्की रुुकुले दुरुत्साहन गरेको आरोप लगाएका थिए । भिडियो सार्वजनिक भएपछि गत साउन ३० गते लामिछाने सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका लामिछानेलाई २ पटक म्याद थपेपछि सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

सम्बन्धित खबर