बंगलादेशका महिलाले विवाहको फारममा कुमारीत्व लेख्न नपर्ने सर्वोच्चको आदेश

दियो पोस्ट  

बंगलादेश, भदौ ११ । बंगलादेशको सर्वोच्च अदालतले बंगलादेशका महिलाले अब विवाह दर्ता फारममा कुमारीत्व उल्लेख गर्न नपर्ने आदेश दिएको छ ।

अदालतले विवाह दर्ता फारममा ‘कुमारी’ भन्ने शब्दको ठाउँमा अनम्यारिड अर्थात ‘अविवाहित’ शब्द राख्न आदेश दिएको हो । फारममा ‘विधवा’ र ‘सम्बन्ध विच्छेद’ शब्द यथावत् राखिएको छ ।

बंगलादेशमा महिला अधिकारकर्मीहरुले विवाह दर्ताको फारममा ‘कुमारी’ भन्ने शब्द अपमानजनक रहेको आरोप लगाउँदै आएका थिए । गएको आइतबार अदालतले गरेको यो फैसलाको उनीहरुले स्वागत गरेका छन् । अदालतले अब श्रीमानले पनि आफ्नो विवाह दर्ताको फारममा विवाह पूर्वको वैवाहिक अवस्था खुलाउनुपर्ने आदेश दिएको छ ।

अदालतले विवाहपूर्व पुरुष पनि अविवाहित, सम्बद्ध विच्छेद वा विधुर भनेर खुलाउन आग्रह गरेको छ । अदालतको पूर्ण आदेश सार्वजनिक भएपछि केही समयमा कार्यान्वयनमा ल्याइने बताइएको छ ।

अदालतले अविवाहित ब्याख्या गर्ने बंगाली ‘कुमारी’ भन्ने शब्द हटाउन भनेको हो । यसको अर्को अर्थ ‘भर्जिन’ भन्ने पनि हुन्छ ।

वकिलहरुको एउटा समूहले सन् २०१४ मा यस सम्बन्धमा मुद्दा हालेका थिए । – बीबीसी हिन्दीबाट