रविबिरुद्ध खेम भण्डारीको आरोपपत्रः ‘कार्यक्रममै टिकटको पैसा मागे, २ सय अझै फर्ता गरेका छैनन्’

दियो पोस्ट  

काठमाडौँ । कञ्चनपुरका पत्रकार खेम भण्डारीले कार्यक्रम प्रस्तोता लामिछानेलाई बिभिन्न आरोप लगाउँदै मिडिया काउन्सील नेपालमा उजुरी दर्ता गरेका छन् । गत साउन १६ गतेको कार्यक्रममा बोलाएर लामिछनेले नियोजित रुपमै आफ्नो अपमान गरेको भण्डारीको आरोप छ ।

भण्डारीलाई कार्यक्रममा उपस्थित गराउनका लागि न्यूज २४ टेलिभिनले आतेजाते हवाई टिकटको ब्यवस्था गरेको भए पनि रबि लामिछानेले कार्यक्रमकै बीचमा टिकटको पैसा मागेको भण्डारीले आरोप लगाएका छन् । उनले न्यूज २४ कार्यक्रममा आउनका लागि केही सर्त राखेको र उक्त सर्त मान्न राजी भए पछि मात्र आफु कार्यक्रममा आएको उजुरी पत्रमा उल्लेख गरेका छन् । तर, रबि लगायत कार्यक्रम टिमले नै सर्त उल्लंघन गरेको भण्डारीको अरोप छ ।

उनले भनेका छन्, “पहिलो, मेरो यातायात तथा आवासको खर्च बिपक्षी (टेलिभिजन)ले बेहोर्नु पर्ने, दोस्रो कार्यक्रमको पुरै समय म एक्लैलाई उपलव्ध गराउनु पर्ने र तेस्रो, मेरो सुरक्षाको प्रत्याभुति गराउनु पर्ने । ती सर्त स्वीकारेका कार्यक्रम उत्पादक दिपक बोहोराले फेसबकमै लेखेका थिए भने २०७६ साउन १६ को कार्यक्रममा संचालक लामिछानेले पनि टेलिभिजनमै बोलेका थिए । र मसंगको एस.एम.एस संवादमा पनि उनले ति सर्त स्वीकारेका थिए ।” तर, विपक्षीहरुले आफ्ना कुनै सर्तहरु पालना नगरेको उनले उल्लेख गरेका छन् ।

न्यूज २४ टेलिभिजनले आफ्ना लागि धनगडी काठमाडौँको आतेजाते टिक पठाइदिएको भएपनि कार्यक्रमकै बीचमा सो रकम लामिछानेले फिर्ता मागको समेत आरोप लगाएका छन् । “पैसा फिर्ता मागेपछि मैले १२ हजार रुपैँया बुझाएँ, जसमध्ये दुई सय रुपैयाँ अहिले पनि फिर्ता गरिएको छैन’’, उजुरी पत्रमा उल्लेख गरिएको छ, ‘‘पूर्व सर्त र पूर्व सहमतीको धज्जी उडाउँदै बिश्वब्यापी प्रचलन अनुसार मेरो सबै खर्च स्वंम टेलिभिजनले उठाउनु पर्ने भए पनि उल्टै निकृष्टताको हद नाघेर मसंग रकम फिर्ता मागियो ।”

भण्डारीले कार्यक्रमको पुरा समय आफुलाइ मात्र दिइने सर्त भएकोमा निलम्वित डिएसपी अंगुर जिसिलाई समेत चोरबाटो बाट उपस्थित गराइएको प्रति रोश प्रकट गरेका छन् । निलम्वित र मुद्धा खेपिरहेका प्रहरी अधिकारीलाई विज्ञका रुपमा कार्यक्रममा उपस्थित गराएको र एकतर्फी रुपमा जिसिकै समर्थनमा रवि लागेको आरोप पत्रमा उल्लेख गरिएको छ । ‘मेरो मानमर्दन गर्नको लागि हदसम्म कोशिस गरे र जिसिलाई बचाउनका लागि कुनै कसर बाँकी राखेनन्’ आरोपपत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको विषयमा अतिरञ्जित गरेको समेत उनले आरोप लगाएका छन् । लामिछानेले पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै पत्रकार भण्डारीले मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गरेका छन ।