काठमाडौँ, भदौ ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदुरपश्चिम प्रदेश इन्चार्ज तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले समाजवादी पार्टी नेपालका सहसंयोजक बाबुराम भट्टराईको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् । सुदुरपश्चि प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले बाबुराम भट्टराईले चार बर्ष अघिको टिकापुर घटनाको पुनरावृत्त गर्न खोजेको आरोप लगाएका छन् ।
गत भदौ ७ गते टिकापुरमा भएको थारु सम्मेलनमा प्रमुख अतिथिका रुपमा सम्वोधन गरेको डा. भट्टराईले अब नेपालका मार्क्सवादको औचित्य नभएको भन्दै थारु समुदायले घरघरबाट उठेर विद्रोह गर्नुपर्ने बताएका थिए । सोही अभिव्यक्तिको विरोध गर्दै नेता रावलले भट्टराई नेपालमा जातिय राजनीति गर्ने लागेको आरोप लगाएका छन् । उनले भट्टराईलाई मार्क्सवाद पोलपाल गरेर खाएको र त्यसकै खरानी धसेको आरोप लगाएका छन् ।
उनले थारु समुदायको हितका लागि बाबुराम भट्टराईले कुनैपनि योगदान नगरेको समेत बताएका छन् । हालसम्म नेकपाले नै थारुको हकहितका लागि काम गरेको बताएका छन् । बाबुराम टिकापुर आएर फेरि पनि द्वन्द भड्काउने खेलमा लागेको बताउँदै नेता रावलले द्वन्द सिर्जना खोजिए आफुपनि चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
डा. भट्टराईले टीकापुरमा सम्वोधन गरेपछि नेकपा नेता रावलसंग टकराव सिर्जना भएको थियो । सामाजिक संजालमा रावल र भट्टराईबिच जुहारी नै चलेको थियो । सामाजिक संजालबाट एकअर्कामाथि आक्रमण गरिरहेका रावल र भट्टराई सतहमै आएर वादविवादमा उत्रिएका हुन् ।