साफ यू–१५ को उपाधी भारतलाई, नेपालको लज्जास्पद हार

दियो पोस्ट  

काठमाडौं,भदौ १४ । नेपाललाई पराजित गर्दै आयोजक भारतले पाचौं संस्करणको साफ यू–१५ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

कल्याणीमा शनिबार भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोल अन्तरले पराजित गरेको हो । योसँगै नेपाल तेस्रो पटक फाइनल पुगेर उपाधि जित्नबाट बञ्चित भयो । भारतले भने तेस्रो पटक उपाधि जित्न सफल बन्यो । यसअघि भारत सन् २०१३ र २०१७ मा प्रतियोगिताको उपाधि जितेको थियो । भारतले दुबै पटक उपाधि हात पार्दा नेपाल उपविजेतामै सिमित बन्यो ।

भारतको उपाधि यात्रामा सिद्वार्थले ह्याट्रिक पुरा गरे । यस्तै महेसन सिंह, मनन्दित माकेस, शिवजित सिंह, हिमांश जंग्राले एक(एक गोल गरे । खेलको १५ औ मिनेटमा महेसनले भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । मनन्दित माकेसले ४१ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर पारे । इन्जुरी समयमा शिवजितले गोल गर्दै भारतलाई पहिलो हाफमा ३–० ले अघि बढाएका थिए ।

पहिलो हाफमा ३ गोल गरेको भारतले दोस्रो हाफमा थप ४ गोल गर्न सफल रह्यो । सिद्धार्थले खेलको ५२ मिनेटमा व्यक्तिगत पहिलो र टोलीका लागि चौथो गोल गरेका थिए । डिबक्स बाहिरबाट प्रहार गरेको बललाई नेपाली गोलकिपरले ठम्याउनै सकेनन् । खेलको ६५ मिनेटमा हिमांश जंग्राले पाँचौ गोल गरे । उनले टाईसनको पास सदुपयोग गर्दै गोल गरेका थिए । ७६ मिनेटमा सिद्धार्थले व्यक्तिगत दोस्रो गोल गरे ।

८० औ मिनेटमा सिद्वार्थले ह्याट्रिक पुरा गर्दै भारतलाई ७–० को शानदार जित दिलाए । नेपाल लिग चरणको पहिलो खेलमा समेत भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो । रोउण्ड रोविन लिगका आधारमा नेपाल र भारत फाईनल प्रवेश गरेका थिए । पहिलो पटक साफ यू–१५ को उपाधि जित्ने नेपालको सपना यसपटक समेत सफल हुन सकेन । नेपालको उपाधि यात्रामा पुग्न भारतनै तगारो बन्न पुग्यो ।