५ हजार र घडी लुट्दा ज्यान गयो, यी हुन हत्यामा संलग्न १४ युवक !

दियो पोस्ट  

काठमाडौँ, साउन १७ । रोल्पाको रुन्टिगढीमा एक युवकको हत्या भएको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका–६ का २४ बर्षीय युवक इश्वर बस्नेतलाई स्थानीय १४ जना युवाहरु मिलेर कुटपीट गरि हत्या गरेका हुन् । स्थानीय ६५ बर्षीय बृद्धको घडी र पाँच हजार नगद लुटेर भागेका युवकलाई स्थानीयले नै कुटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

रुन्टीगढी गाउँपालिका–६ सालडाँडा ६५ बर्षी गोठे बुढा शुक्रबार दाङको घोराहीबाट घर फर्किँदै गर्दा रुन्टीगढी गाउँपालिका–६ कै भन्ज्याङ्ग खोलामा लुटिएका थिए । बुढालाई सोही वडाको सालडाँडा बस्ने इश्वर बस्नेतले लुटेका थिए । आफु लुटिएपछि गाउँमा गई खबर गरेपछि शुक्रबार रातको १ बजे सोही गाउँका स्थानीय युवाहरु बस्नेतको घर पुगेका थिए ।

युवाहरुको समुह आफ्नो घरमा आएको थाहा पाएपछि भाग्नको लागि झ्यालबाट हामफालेका इश्वर घाइते भएका थिए । घाइते भएर भाग्न नसकेपछि १४ जना युवाहरुले घेरेर पिटेका थिए । पिटेर अवस्था गम्भिर भएपछि अस्पताल लैजाँदै गर्दा २४ बर्षीय इश्वरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रवक्ता इन्सपेक्टर शंकर खड्काका अनुसार हत्यामा संलग्नमध्य ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा ३३ बर्षीय झुपलाल बुढा, ३९ बर्षीय प्रेम बहादुर बुढाथोकी, ३५ बर्षीय चेतलाल साहु, ३९ बर्षीय चन्द्रलाल रोका र दिल बहादुर रोका रहेका छन् । अन्य फरार रहेको कारण उनिहरुको खोजी भइरहेको छ ।