काठमाडौँ, साउन १८ । चार दिनको मौनतापश्चात प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबिच पुनः वार्ता शुरु भएको छ । अध्यक्ष दाहाल आइतबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका हुन् । दाहालले आइतबारको छलफलमा झलनाथ खनाललाई संगै लिएर गएका छन् ।
प्रचण्ड–केपी ओली र झलनाथ खनालसहितको छलफलमा उपनेता सुवास नेम्बाङ पनि उपस्थित रहेको बालुवाटार स्रोतले जनाएको छ । छलफलमा हालसम्म चलिरहेको विवादको समाधान खोजिने प्रयास गरिने छ ।
ओली, प्रचण्ड र झलनाथबीच गत मंगलबार बालुवाटारमै कुराकानी भएको थियो। उक्त दिन बोलाइएको पार्टी स्थायी कमिटी बैठक अध्यक्ष ओलीले एकलौटी रूपमा स्थगित गरिदिएपछि प्रचण्ड र झलनाथ ओलीलाई बैठकमा सहभागी हुन अनुरोध गर्न गएका थिए।
प्रधानमन्त्री ओलीले आफु नआउने जवाफ दिएपछि बालुवाटारमा भेला भएका प्रचण्ड र अर्का बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २९ जना स्थायी कमिटी सदस्य सहभागी भएर बैठक बसेको थियो। उक्त बैठकले एकलौटी रूपमा अध्यक्ष ओलीले बैठक रोक्नु विधानविपरीत र अनुचित भएको निर्णय गरेको थियो।
उक्त बैठकले आगामी स्थायी कमिटी बैठकको मितिका लागि अध्यक्ष ओलीसँग सहमति गर्ने जिम्मा पनि प्रचण्डलाई दिएको थियो।