काठमाडौँ, साउन १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारि विवाद समाधानको लागि दुई अध्यक्षबिचको छलफल बिना निष्कर्श टुंगिएको छ । आइतबार बालुवाटारमा अध्यक्षद्वय केपी ओली र प्रचण्ड सहित दुई नेताहरु झलनाथ खनाल र सुवास नेम्बाङ पनि उपस्थित थिए ।
छलफलबाट के निश्कर्ष निस्कियो भन्ने बारे केही खुलाइएको छैन । यद्यपी दुबै अध्यक्षहरुबिच छलफल जारि राख्दै सहमती खोजिने प्रयास गरिने सहमती भएको बताइएको छ ।
ओली, प्रचण्ड र झलनाथबीच गत मंगलबार बालुवाटारमै कुराकानी भएको थियो। उक्त दिन बोलाइएको पार्टी स्थायी कमिटी बैठक अध्यक्ष ओलीले एकलौटी रूपमा स्थगित गरिदिएपछि प्रचण्ड र झलनाथ ओलीलाई बैठकमा सहभागी हुन अनुरोध गर्न गएका थिए।
प्रधानमन्त्री ओलीले आफु नआउने जवाफ दिएपछि बालुवाटारमा भेला भएका प्रचण्ड र अर्का बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २९ जना स्थायी कमिटी सदस्य सहभागी भएर बैठक बसेको थियो। उक्त बैठकले एकलौटी रूपमा अध्यक्ष ओलीले बैठक रोक्नु विधानविपरीत र अनुचित भएको निर्णय गरेको थियो।
उक्त बैठकले आगामी स्थायी कमिटी बैठकको मितिका लागि अध्यक्ष ओलीसँग सहमति गर्ने जिम्मा पनि प्रचण्डलाई दिएको थियो।