सिद्धलेक गाँउपालिकामा हाते ट्याक्टर खरिदमा समेत चरम भ्रष्टाचार : प्रति ट्याक्टर २२ हजार घुस !

सिद्धलेक गाँउपालिकामा हाते ट्याक्टर खरिदमा समेत चरम भ्रष्टाचार : प्रति ट्याक्टर २२ हजार घुस !

दियोपोस्ट संवाददाता,

धादिङ, २४ साउन । धादिङको सिद्धलेक गाँउपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले आप्mनो पालिका देशकै नमुना स्थानिय तह भएको दाबी गर्दै आएका छन् । तर, एकपछि अर्को अनियमितता र भ्रष्टाचार छताछुल्ल हुन थालेपछि भने देशकै नमुना भनिएको गाउँपालिका भ्रष्टाचारको समेत नमुना बन्न पुगेको छ ।


सरकारले दिने निशुल्क औषधी समेत लाखौं घोटाला तथ्य चर्चामै रहँदा फेरी अर्को घोटाला बाहिर आएको छ । सिद्धलेक गाँउपालिकाले किसानका लागि भन्दै केहि महिना अघि ५० प्रतिशत् अनुदानमा बितरण गरेको हाते ट्याक्टर (यन्त्रिक हलो) खरिदमा समेत चरम अनियमितता गरेको पाइ्एको छ । क्याटलग ब्रोसर सपिङ प्रविधी मार्फत् खरिद गरिएको हाते ट्याक्टर खरिदमा गाउँपालिका अध्यक्ष सिलवाल र प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलेको समलग्नता रहेको समेत पाइएको छ ।


यता क्याटलग ब्रोसर सपिङ प्रविधी मार्फत्, कम दररेटमा हाते ट्याक्टर खरिद गर्ने भन्दै गाँउपालिकाले गोरखापत्रमा सुचना प्रकासित् गरेको थियो भने स्थानिय किसानकै नेतृत्वमा हाते ट्याक्टर खरिद समिती समेत बनाएको थियो । उक्त ट्याक्टर खरिद गर्न गाँउपालिकाले दुवाल आर एन् आर वि.के.टि.ईन्टरप्राईजेज प्रा.लि. लिवाली च्याम्हासिंह ८, भक्तपुरले चयन गरेको थियो ।

सिद्धलेक गाँउपालिकाले दुवाल आर एन् आर वि.के.टि.ईन्टरप्राईजेज प्रा.लि. भक्तपुर नामक कम्पनीसंग ट्याक्टर खरिद गर्दा प्रति ट्याक्टर २२ हजार रुपैयाँसम्म महँगोमा खरिद गरि सप्लायर्ससँग कमिशन लिएको आरोप छ ।


गाँउपालिकाले ७ हर्स पावर र ५.५ हर्स पावरको २ खाले गरी १ सय १० वटा ट्याक्टर खरिद गरेको थियो भने गाँउपालिकाले उक्त कम्पनीलाई ७ हर्स पावरको ट्याक्टरको रु. ७५ हजार र ५.५ हर्स पावरको ट्याक्टरको रु. ६५ हजार तिरेको छ ।

जुन मुल्य बास्तविक मुल्य भन्दा झण्डै दोब्बर हो । सोहि क्षेत्रका विज्ञहरुका अनुसार उक्त ट्याक्टरको ७ हर्स पावरको ४८ हजार र ५.५ हर्स पावरको ट्याक्टरको रु.४२ हजार रुपैयाँ पर्छ । त्यति मात्रै होइन १ सय १० वटा हातेट्याक्टर खरिद गर्दा गाउँपालिकाले पाउने छूटमा समेत कमिशनको भागबण्डा भएको स्रोतको भनाई छ ।


‘प्रति ट्याक्टर २२ हजार रुपैयाँसम्म कमिशन तथा घुस खाएको देखियो,’ जिल्ला स्थित छानबीन गरिरहेको अख्तियारको समेत अधिकार प्राप्त जिल्ला प्रशासनका एक अधिकारीले भने,‘हामी अनुसन्धान कै क्रममा छौँ । कहाँकहाँबाट खरिद गरिएको हो सबै ठाउँमा पत्राचार भइसकेको छ ।’
जिल्लाकै एक सरकारी निकायले खरिद गरेको सोही हर्स पावरेको ट्याक्टरको कोटेशन प्राप्त गरेको छ । जसमा सिद्धलेक गाउँपालिकाको समेत ट्याक्टर खरिद गर्ने भक्तपुरको दुवाल आरआर विके इन्टरप्राइजेजले सोही हर्स पावरको दुई थरी ट्याक्टर ५२ हजार रुपैयाँ र ५६ हजार रुपैयाँमा खरिद गरेको पाइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धादिङले खरिद गरेको ट्याक्टर पनि सोही क्षमता र सप्लायर्सको हो । परियोजनाले ५० प्रतिशत अनुदानमा ६० वटा मिनिटिलर हस्तान्तरण गरेको थियो । जुन सिद्धलेक गाउँपालिकाले खरिद गरेको सप्लायर्स नै परियोजनाको ट्याक्टर सप्लाइमा समलग्न रहेको पाइएको छ ।


परियोजनाले ५.५ एचपी (हर्स पावर)को डिजेल मिनिटेलर दुवाल आरआर विके इन्टरप्राइजेजबाट ५२ हजार रुपैयाँमा खरिद गरेको छ । जबकी सोही ट्याक्टर सिद्धलेक गाउँपालिकाले ६५ हजार रुपैयाँमा खरिद गरेको बिलमा देख्न सकिन्छ ।

त्यस्तै परियोजनाले ७ एचपी (हर्स पावर)को डिजेल मिनिटेलर ५६ हजारमा खरिद गरेको छ । सोही ट्याक्टर गाउँपालिकाले भने ७५ हजारमा किनेको बिलमा देख्न सकिन्छ ।

गाँउपालिकाले गत चैत्र २६ गते १ सय १० वटा ट्याक्टर खरिद गरी चैत्र २८ गते किसानलाई ट्याक्टर बितरण गरेको थियो । ट्याक्टर वितरण पश्चात किशानले बिल पाउनुपर्ने हो । तर, अनियमितताको पोल खुल्ने डरका कारण गाउँपालिकाका उच्च अधिकारीले हालसम्म पनि किसानलाई आफुले ५० प्रतिशत बुझाएको बिल दिएका छैनन् ।

सप्लायर्स एउटा बिल अर्कै !

दुवाल आरआर विकेले ट्याक्टर सप्लाइ गरेको भएपनि गाउँपालिकामा भने नृसिंह इन्टरनेश्नल ट्रेडलिंक र महेश्वरी ट्याक्टर सप्लायर्सको नामका समेत बिलहरु प्रयोग भएको छ । यसअघि औषधी खरिदमा पनि गाउँपालिकाले विचौलिया प्रयोग गरेर बिल मात्रै एउटा कम्पनिको प्रयोग गरेको थियो भने औषधी अन्यत्रबाट ल्याएको थियो ।

ट्याक्टर खरिद गर्दा भ्याट बिल प्रयोग गर्ने नृसिंह इन्टरनेश्नल लिंकले भ्याट समेत नतिरेको देखिएको छ । गाउँपालिकाले खरिद गरेको कम्पनिले भ्याट बिनाको बिल पेश गर्दा पनि भुक्तानी भने दिएको छ ।

ट्याक्टर सप्लाई गरेको हुँ : दुवाल


दियोपोष्टको सम्पर्कमा आएका दुवाल आरआर विके इन्टरप्राइजेजका राजेश दुवाललाई हामीले ट्याक्टर खरिदका विषयमा प्रश्न गरेका थियौँ । हामीले उनलाई कृषि परियोजनामा ट्याक्टर सस्तोमा दिनु भएको रहेछ नी भनेर प्रश्न गर्दा उनले हतारिँदै सिद्धलेक गाउँपालि तर्फ कुरा मोडे ।
यद्धपी उनले दुवै निकायमा आफुले ट्याक्टर सप्लाइ गरेको भने स्विकार गरे ।

जवाफदेहिताबाट भाग्न थाल्यो सिद्धलेक !

यस विषयमा प्रतिक्रिया लिनका लागि दियोपोष्ट डटकमले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेललाई सम्पर्क गरेको थियो ।

पटक पटक सम्पर्क गर्दा पनि पौडेलले फोन उठाएनन् । गाउँपालिका अध्यक्ष सिलवालको मोबाइल नम्बरमा पनि पटक पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन ।

Trending News