
धादिङ्ग, साउन २८ । धादिङ्गको गल्छी गाउँपालिकाले कोरोनाभाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाभित्र हुने सम्पुर्ण कामकारबाहीहरु १ हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । बुधबार गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठसहित वडाका प्रतिनिधी र स्थानीय प्रतिनिधहरुको संयुक्त छलफलबाट गाउँपालिकाभित्र हुने गरेका सम्पुर्ण क्रियाकलाप १ हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।
छलफलबाट भएको निर्णय भोली (साउन २९) गतेदेखि लागु हुने समेत गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र संचालन भएका अत्यावश्यक बाहेकका सम्पुर्ण पसल, सरकारी कार्यलयहरु समेत बन्द गर्ने निर्णय भएको छ । त्यस्तै गाउँपालिकाभित्रका खोलानालाबाट वालुवा लगायतका सामाग्रीहरु उत्खनन् गर्नसमेत १ हप्ताको लागि रोक लगाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका हुँदै चल्ने सवारी साधनहरु गल्छी–४ को बेल्खु खोला पुलदेखि वडा नम्बर ७ स्थित खेस्टे खोला पुलसम्म रोक्न नपाईने समेत निर्णयमा उल्लेख गरिएको छ । यद्यपी अत्यावश्यक सवारी साधनहरुलाई भने प्रतिवन्ध लगाइएको छैन ।
गाउँपालिकाले चाडपर्व मनाउँदा भीडभाड नगरि मनाउनका लागि समेत अपिल गरेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाका जनताहरुलाई अत्यावश्यक काम नपरि घरबाट बाहिर ननिस्कनका लागि आग्रह गरिएको छ भने अत्यावश्यक काममा निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न निर्देशन दिइएको छ । मास्कको प्रयोग नगर्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय समेत गरिएको छ ।

