कोरोना संक्रमणबाट एकैदिन ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो !

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन २८ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालभर ८ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार साँझदेखि बुधबार सम्मको अन्तरालमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

प्रवक्ता डा. गौतमका अनुसारकाठमाडौँ टेकुकी ७८ बर्षीय महिलाको आज बिहान किस्ट मेडिकल कलेजमा कोरोना संक्रमणको कारण मृत्यु भएको हो । त्यस्तै ह्याम्स हस्पिटलमा धादिङ्ग नीलकण्ठ नगरपालिका–१४ का ३२ बर्षीय पुरुषको गएराति कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

यसैगरि धनुषाको जनकपुर उपमहानगरपालिका–१ का ७१ बर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ । उनको बुधबार बिहान मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । त्यसैगरि जनकपुर उपमहानगर–८ की ३८ बर्षीया महिलाको गएराति पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको डा. गौतमले जानकारी दिएका छन् ।

त्यस्तै थप मृतकहरुमा सप्तरी डाक्रेश्वरी नगरपालिका–८ घर भई राजविराज बस्दै आएका ७२ बर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण गएराति मृत्यु भएको छ । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुडिगंगा–२ मोरङका ५५ बर्षीय पुरुषको मृत्यु भएको छ ।

डा. गौतमका अनुसार बुटवल कोरोना अस्पतालमा कपिलबस्तु तौलिहवाका ४२ बर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ । त्यस्तै बारा स्थित कलैया उपमहानगरपालिकाका ७५ बर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

बुधबारसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस