
काठमाडौं,३० साउन । उद्योग मन्त्री लेखराज भट्टले विवादित मदिरा व्यापारी तथा करछली अभियोगमा कारबाही भोगेका कम्पनिहरुलाई मदिरा उत्पादको शाखा उद्योग विस्तार गर्न दिने चलखेल थालेका छन् ।
मुलुक कोरोना महामारीसँग जुधिरहेको बेला भट्ट भने विवादित मदिरा व्यापारीलाई शाखा उद्योग विस्तार गर्न दिने तयारीमा लागेका हुन् ।

क्षमता बृद्धिको नाममा शाखा उद्योग विस्तारको अनुमति दिने प्रस्ताव उद्योग विभागले औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको २३१ औँ बैठकमा पेश गर्न लागेको हो ।
उद्योग मन्त्री भट्टको अध्यक्षतामा बस्ने बैठकमा राज्यमन्त्री, उध्योग सचिवलगायत सदस्य तथा उद्योग विभागका महानिर्देशक सदस्य सचिव समेत रहनेछन् । शुक्रबार आयोजना गरिएको बैठकले मदिरा उद्योगलाई क्षमता बृद्धिको नाममा शाखा विस्तारको अनुमति दिने तयारी गरेको पाइएको हो ।
शुक्रबार दिउँसो १ बजे आयोजना गरिएको बैठकमा खेतान समुहको गोर्खा ब्रअरी, भागेश्वर सुगर एन्ड केमिकल इन्डस्ट्रीज, सुमी डिस्टिलरी, प्रिमियम अर्गानिक्स र मनाङ वेभरेज प्रालिलाई शाखा विस्तार र पूँजी बृद्धिका लागि अनुमति दिने तयारी गरिएको हो ।
कर छली र नक्कली भ्याट बिल बनाएको अभियोगमा पटक पटक कारबाही भोगेको गोर्खा ब्रअरीको सञ्चालक राजेन्द्र खेतान हुन् ।
नवलपरासीमा रहेको टुबोर्ग वियरको उक्त उद्योगले शाखा उद्योग निर्माणका लागि यसअघि उद्योग मन्त्री बनेका सुनिल थापाकै पालादेखि प्रयास गरेको हो । तर, खेतान समुहको प्रयास विफल भएको थियो ।
मन्त्री भट्ट आएपछि भने अनुकुल भएपछि उनीहरुको योजना सफल हुने भएको छ । उद्योग ऐन अनुसार क्षमता बृद्धि र पुँजीबृद्धिका लागि उद्योगहरुले उद्योग रहेकै स्थानमा नयाँ मेसिन तथा उपकरण जडान गर्न सक्छन् ।
तर, ऐनलाई समेत गलत व्याख्या गर्दै नयाँ उद्योगलाई जस्तै शाखा उद्योग विस्तारको अनुमति दिन भट्ट किन लागि परे ? उनको आर्थिक स्वार्थ त छैन ? भन्ने प्रश्न उठ्न थालेको छ ।
खेतान समुहलाई थप उद्योग विस्तारको अनुमति दिन उद्योग राज्य मन्त्री मोती दुगड समेत लागि परेका छन् । ट्रेडमार्क चोरीको अभियोग लागेका राज्य मन्त्री दुगडले नै अधिकांश विवादित उद्योगलाई अघि सारिएको पाइएको छ ।
चिनी तथा खाध्यान्न उत्पादन गर्दै आएको भागेश्वर उद्योग भने सुदुर पश्चिममा क्रियाशिल छ ।
भागेश्वर उद्योगले चिनी उत्पादन गर्दै आएको छ। अब यो उद्योगले पनि मदिरा उत्पादनका लागि अनुमति माग गरेको छ । उद्योग मन्त्री भट्टका आफन्त पर्ने टेक बोगटीले सञ्चालन गरेको यो उद्योगलाई मदिरा उत्पादनको अनुमति दिन भट्ट नै सक्रिय थिए ।
त्यस्तै नेपाली कांग्रेसका सांसद कर्मा घलेले सञ्चालन गरेको सुमी डिस्टिलरीलाई पनि शाखा उद्योग विस्तारको अनुमति दिने आजको बैठकको तयारी छ ।
त्यस्तै मनाङबाट प्रतिनिधि सभामा निर्वाचित सांसद पाल्देन छोपाङद्वारा सञ्चालित मनाङ वेभरेजले पनि शाखा उद्योगको अनुमति पाउने भएको छ । पाल्देन प्रधानमन्त्री ओली निकट हुन् ।
बैठकको एजेन्डामा युनिट एक लेखेर शाखा विस्तारको योजना घुसाउन लागिएको एक सदस्यले बताए ।