काठमाडौं, २४ साउन । दियोपोस्ट डटकममा प्रकाशित समाचारलाई लिएर एक व्यक्तिले धम्की दिएका छन् । ती व्यक्तिले विदेशी नम्बरबाट दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई ‘समाचारको स्रोत के हो’ भन्दै धम्की दिएका हुन् ।
ती व्यक्तिले आफू मनिन्द्रराज मल्लको नजिकको व्यक्ति रहेको बताउँदै धम्की दिएका हुन् । उनले बेलायती कोड भएको नम्बर +४४७४०५८२७७७३ नम्बरबाट फोन गर्दै ‘समाचारको स्रोत के हो ?’ भन्दै धम्की दिएका हुन् ।
‘हिजो तपाईंले मनिन्द्र मल्ल भन्नेको समाचार लेख्नु भएको रहेछ । तपाईंलाई यो जानकारी कहाँबाट आयो,?’ ती व्यक्तिले स्रोत खोज्दै भने,‘म उहाँ (मनिन्द्र मल्ल)को शुभचिन्तक हुँ । मेरो नाम सन्दिप हो । उहाँ केपी ओलीसँग जोडिएको छ भनेर कसरी थाहा पाउनु भयो । तपाईंको मिडिया दर्ता छैन भन्ने कुरा पनि हामीलाई जानकारीमा आएको छ । दर्ता छ भने ठीकै छ ।’
ति व्यक्तिलाई सुचना विभागको दर्ता नम्बर नै चाहिन्छकी भनेर विश्वकर्माले जवाफ दिएपछि उनले भने,‘यो समाचारको सुत्र को पर्नुभयो । तपाईंले केपी ओलीको विषयमा लेख्नु भएको ठीक छ । तर उहाँ जोडिएको छ भनेर कसरी थाहा पाउनुभयो । यो समाचार माओवादीकोबाट आयो की कुलमानकोबाट आयो ? कुलमानको पनि फाइल अख्तियारमा छ भन्ने कुरा तपाईंलाई थाहा होला नी यो पनि लेखिदिनुस् न । कुलमानले ३० करोडभन्दा बढी भ्रष्टाचार गरेको छ । त्यो पनि लेखिदिनुस् ।’
दियोपोस्टमा प्रकाशित समाचारले आफूहरुको चरित्रहत्या भएको ती व्यक्तिको दाबी छ । भिओआइपी कल बाइपासको अभियोगमा पक्राउ परेका मनिन्द्रराज मल्ललाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत प्राधिकरणमा आफ्ना प्रतिनिधिका रुपमा कमिशन उठाउन खटाएको विषयमा दियोपोस्टले समाचार छापेको थियो । सोही समाचारको विषयमा ती व्यक्तिले स्रोत मागेका हुन् ।
‘मल्ल भन्ने मान्छे नेपालमा दूरसञ्चारको क्षेत्रमा धेरै प्रकारका कामहरु गरेको छ । उहाँको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिली अधिकारीसँग राम्रो सम्बन्ध छ,’ ति व्यक्तिले भने,‘उहाँले भिओआइपी कल बाइपासमा पनि सफाई पाउनु भएको हो ।’