प्रभात तिमिल्सिना
२०५५ सालमा रसियन कल्चर सेन्टरले आयोजना गरेको बाल दिवसको कार्यक्रम थियाे ।
संगीतकार थिए– रेशम चाैधरी ।
उनी रेडियो नेपालको तर्फबाट साङ्गीतिक कार्यक्रममा सहभागी भएका थिए ।
रेशम हार्माेनियम बजाउँदै थिए । त्यतिबेलै रेशममाथि रञ्जिताकाे नजर पर्याे ।
उनीहरुबीच चिनजान भयाे । उनीहरुबीचकाे सामान्य चीनजान भेटघाटमा बदलिँदै गयाे ।
रेशम कराँँतेका खेलाडी थिए । रेडियाे नेपालकाे जागिर त थियाे नै । उनी सञ्चार कर्म र खेलजीवन एकैसाथ अघि बढाउँदै थिए ।
काठमाडाैँकाे क्षेत्रपाटीमा जन्मिएकी रञ्जिता भने १५ वर्षकी थिइन् । उनी ९ कक्षामा पढ्दै थिइन् ।
उनीहरुबीच भेटघाट बाक्लिँदै गयाे ।
रेशम र रञ्जितााले एक अर्काप्रति माया गर्न थाले । चौधरी र रञ्जिता श्रेष्ठले प्रेमलाई विवाहमा बदले ।
विवाहका सुरुवाती दिनहरूमा रेशमको सङ्गीतका यात्रा र पत्रकारिता जीवन सँगसँगै चलिरहेको थियो । रेशम कीर्तिपुरमा कराँते सिकाउने गर्दथे । साथै, दिनभरि जसो रेडियो नेपालको जागिरमा व्यस्त रहने उनको दैनिकी थियो ।
आफ्नो विवाह पछिका दिनहरूमा रञ्जीता र रेशमले काठमाडौँमा थुप्रै रेडियो स्टेशनहरूमा काम गरे । दुवै जना वाक कलामा निपूर्ण थिए ।
रेडियो सगरमाथा, इमेज टेलिभिजन र विभिन्न रेडियो स्टेशनहरूमा सामाजिक सचेतना, लोकगीत र समसामयिक मूलका कार्यक्रममार्फत दुवैले राम्रो प्रसिदि्द कमाईरहेका थिए । दम्पति दुवैले अन्तर्राष्ट्रिय संस्था यूएनडीपीको प्रयोजनमा आएको कार्यक्रम ‘बिहानी दुइटै आँखाले देख्छ’ जस्ता कार्यक्रम चलाउने समेत मौका पाए ।
समयक्रमअनुसार, दुवैलाई आफ्नो ठाउँ कैलालीकाे (टिकापुर) मा केही गर्न पाए हुने हुन्थ्यो भन्ने अभिप्सा लागिरहेको थियो । त्यसैले काठमाडौँको फस्टाउँदो सफलतालाई यहिँ छोडेर विवाहको पाँच वर्षपछि चौधरी र श्रेष्ठ टिकापुरतर्फ हानिए ।
टीकापुरमा एफ.एम. काे सुत्रपात:
आफूले जानेको त्यही रेडियाेकाे सिप थियाे ।
तर कैलालीमा रेडियाे थिएन ।
रेशम र रञ्जीताले एफ.एम. रेडियो खोल्ने निधो गरे ।
यसका निम्ति आफ्नो भइरहेको जमिन र स्थानीयलाई प्रयोग गरेर आफैँले काम सुरु गर्न थाले ।
सुरुवाती दिनहरूमा त मान्छेले पत्याएनन् पनि।
रञ्जीता त्यो समय सम्झिन्छिन्-, “मान्छेहरु भन्थे काठमाडौँबाट आएका छन्, रेडियो ल्याउँछौँ भन्छन् । कोदालोले खनेर बसेका छन् । खोइ धान रोप्न आएका हुन् कि के गर्न आएका हुन्?”
टिकापुरमा रेडियो स्थापनाको लागि जमिन त थियो तर त्यसका लागि चाहिने अन्य भौतिक संरचना पाउन कठिन थियो । रेडियोका लागि चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा ‘रेडियो ट्रान्समिटर’ नेपालमा पाउन मुस्किल थियो । ट्रान्समिटरको बन्दोबस्त गर्न निकै समय लाग्यो। अन्ततः इटालीबाट जसोतसो त्यसको व्यवस्थापन गरियो ।
त्यस्तै, अर्को चुनौतीपूर्ण काम थियो– रेडियोको टावर खडा गर्नु, किनभने टीकापुरको चैते-वैशाखको हुरीमा टावर जोगाउनु निकै कठिन र सकसको काम थियो ।
दुवैको प्रयासले त्यो समयको नेपालको सबैभन्दा अग्लो टावर टीकापुरमा खडा भयो । त्याे रेडियाेकाे टावर मात्रै थिएन रेशम र रञ्जिताकाे सपनाकाे चुचुराे थियाे ।
जब मान्छेले टाउको उठाएर टावर हेर्न थाले,अनि पत्याउन थाले – टिकापुरमा रेडियाे चल्ने भयाे ।
केही सहयोगी हात सहयोगका निम्ति पनि आउन थाले ।
दु:ख र चुनौतीको बाबजुद ०६० साल वैशाख १४ गते टिकापुरमा एफ.एम स्थापना भयो र नाम राखियो- ‘फूलबारी एफ.एम. ।’
पानी, हुरी र चट्याङले फूलबारी एफएमकाे सर्किट जलेको थियो भने कयौँपटक, समाचार प्रसारण गरेको निहुँ बनाउँदै गेट भत्काउने र समान चोरी हुने सम्मका घटना भए ।
चौधरी दम्पती र फूलबारी युनिट मिलेर प्रत्येक वर्ष रेडियोको वार्षिक उत्सव मनाउँथे र त्यो ‘फुलबारी महोत्सव’का नामले चर्चित थियो । हरेक वर्ष टीकापुरमा एक जना व्यक्तिले मेला नै लगाउनु चानचुने कुरा थिएन ।
करिब ६ दिन जस्तो टीकापुरमा मेला लाग्थ्यो र स्थानीय एवं राष्ट्रिय स्तरका कलाकारहरूले प्रस्तुती दिन गर्थे । विभिन्न नेताहरू पनि त्यहाँ नपुगेका होइनन् । निवर्तमान प्रधानमन्त्री के.पी.ओलीसम्म पुगेका थिए ।
रञ्जीता भन्छिन्, “मान्छेको भैँसी हरायो एफएममा खबर दिने, साइकल मोटरसाइकल चोरी भयो एमएफमा खबर गर्ने हुन् थाल्यो । अझ, जन्मदिनसम्मको शुभकामना दिनेदेखि सामाजिक सचेतनाको सूचना दिने थलो समेत बन्दै थियो- फूलबारी ।”
एफ.एमले टिकापुरलाई अवसर र सन्चारको यात्रामा सहजता ल्याएको थियो।
२०७२ साल भदौ ७ गते प्रहरी र थरुहट निकट आन्दोलनकारीबीच भिडन्त भयाे । त्याे भयानक घटनामा ८ जना प्रहरी सहित एक २ बर्षिय बालकको मृत्यु भयाे ।
भाेलीपल्ट बिहान अर्थात् भदौ ८ गते आक्रोशित समूहले (अखण्ड सुदूरपश्चिम निकट) सञ्चालनमा रहेको एफएम स्टेशन, घर, गाडीको साथसाथै नजिकै रहेको रिसोर्टमा आगो लगाइदिए |
एफ.एममा आक्रोशित समुहले आगो लगाएपछि एफ.एम संचालनमा रहेन ।
यसका साथै टिकापुरमा टेलिभिजन हुनुपर्छ भनेर पहल गर्दै आएका चौधरी दम्पतीले, टेलिभिजनको काम पनि सुरु गरी सकेका थिए तर भदौ ८ मा एफ.एममा आगो लागेपछि त्यो उनीहरुकाे तयारीमा राेक लाग्याे ।
रेशमले आफ्नो एक रिसोर्ट पनि संचालमा ल्याएका थिए- जहाँ चौधरी समुदायका पहिचान र संस्कृति झल्काउने विभिन्न ऐतिहासिक सामाग्री, चौधरी समुदायका परिकारका खाने कुरा र पोशाकहरू देख्न पाइन्थ्यो | त्यो रिसोर्ट पनि भदौ ८ गतेको आगलागीमा जलेर खरानी भयो |
रञ्जीता त्यही फुलबारी एफएमकी स्टेशन म्यानेजर भएर कार्यरत थिइन् । उनी विभिन्न जनचेतनामूलक एवं सन्देशमूलक कार्यक्रम चलाउने गर्थिन् भने रेशमले सांगीतिक यात्रा र पत्रकारिता यात्रामा निरन्तर अघि बढीरहेका थिए ।
रेशमले करिब दुई सय बढी गीतमा आफ्नो संगीत दिएका छन्, गीत लेखेका छन् र दर्जन बढी राष्ट्रिय भावना झल्कने एल्बम निकालेका छन् । रेशमको कलाकारिताको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले उनलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित गरेको थियो।
यसका साथै उनको रेडियोमा योगदान र सबल कार्यक्रम सञ्चालकको भूमिका निभाएको योगदानले गर्दा राजाले दिने गोर्खा दक्षिणबाहु दोस्रो समेत पाएका थिए ।
स्थानीय थारुको समुदायको अवस्थाबाट उठेर त्यो स्थानसम्म पुग्न सम्पूर्ण चौधरी समुदायको लागि गर्वको विषय थियो । यसकारण पनि चौधरी समुदायका लागि रेशम उदाहरणीय व्यक्ति हुन् भन्ने कुरामा सम्पूर्ण चौधरी समुदायको एकमत रहेको कुरालाई नकार्न सकिँदैन ।
०७२ साल भदौ ७ गतेको घटनापछि फूलबारी एफ.एम बन्द मात्रै भएन, एक खण्डहरमा परिणत हुन् पुग्यो । त्यतिबेला रञ्जीता काठमाडौँ थिइन र रेशम निर्वासित भएर भारततर्फ लागेका थिए । त्यसपछिका दिनमा फूलबारी एफ.एम. सम्झना मात्र सिमित रहन पुग्यो ।
त्यो आगो कसले लगायो ? किन लगाए ? भन्ने जिज्ञाशामा रञ्जीता भन्छिन्- “भदौ ७ गते जुन घटना भयो, त्यो घटनाको मुख्य योजनाकार रेशम चौधरी हो भन्ने मानसिकता फैलियो तर त्यो आरोपको सत्य र यकिन विवरण कसैलाई थाहा नै थिएन ।
बदलाको भावना र रेशमले स्थानीय चौधरी समुदायको प्रतिनिधित्व गर्ने भएको हुनाले, भीडले त्यो आगो लाएको हो । “भीड आगो लगाउन आउँदै छ भन्ने थाहा पाएपछि पनि विभिन्न मानव अधिकारकर्मी, मानवअधिकार आयोग, प्रहरी प्रशासन र सम्बन्धित निकायमा गुहार गर्दा पनि त्यो भीड र आगलागीलाई रोक्न/छेक्न कसैबाट केहि पहल भएन”, रञ्जीता भन्छिन्, “त्यो दिन आगो कसले लगायो भन्ने कुरामा थुप्रै शङ्का गर्ने ठाउँ छ ।
त्याे दिन :
टीकापुरमा कर्फ्यू लागेको थियो । कर्फ्यू लागेको समयमा मान्छेको भीडले घर, गाडी, रिसोर्ट, एफ.एम. जलाउने काम कसरी सम्भव भयो ?
जबकि चौधरी बस्तीमा प्रहरीले घरबाट निस्कन सम्म दिएको थिएन ।
कर्फ्युको अवधारणा पनि यही हो कि, राज्यले अवस्थामाथि नियन्त्रण गर्नका लागि कुनै पनि व्यक्तिलाई सार्वजनिक हुनबाट र सार्वजनिक ठाउँमा निस्कनामा निषेध गरेको हुन्छ ।
आगोलागी सम्बन्धी जाँचबुझ गर्नका लागि मूल्याङ्कन समिति समेत बन्यो र समितिको आंकलनमा करिब दुई करोड नब्बे लाख रुपैयाँ क्षति भएकाे विवरण सार्वजनिक भयाे ।
जसमध्ये, एक करोड पचास लाख रुपैयाँ तत्कालिन सरकारले दिएकाे छ । जलेर खरानी बनेकाे रेशम र रञ्जिताकाे सपनाकाे भने न त राज्यले कुनै मुल्य निर्धारण गर्न सक्छ न त क्षतिपूर्ति नै दिनसक्छ ।
“ऐतिहासिक कागजात एवं प्राचिन थारुका लिपीमा लेखिएका पुस्तक समेत जलेका छन्, जसको मूल्याङ्कन न नेपाल सरकारले नै गर्यो न समितिले नै,” उनले भनिन् ।
अहिलेको अवस्थामा, एफ.एम. घर रिसोर्ट भग्नावशेष बनेकाे छ । त्यहाँको सम्पूर्ण, भौतिक चिज जस्तै: रेडियोका सामानहरू, घरका झ्याल ढोका, बगैँचाका मूर्ति, बोटबिरुवा इत्यादि चोरी भएर सकियो ।
“के कुनै पनि व्यक्तिको सम्पत्तिको रक्षा गर्नु राज्यको दायित्व हो कि हैन ? दोषी र निर्दोष त्यो प्रक्रियाको कुरा हो, त्यसका निमित्त अदालत होला । कानुन होला । पुष्टि भए सजाय होला तर कसैको पनि सम्पत्तिको हक (जो संविधानमा नै उल्लेख गरिएको छ) त्यो हानीनोक्सानी हुँदा राज्य, प्रशासन जस्तो संवेदनशील निकाय किन टुलुटुलु हेरेर बसेको ? किन कानमा तेल हालेर बसेको ?”, रञ्जीता प्रश्न गर्छिन् ।
टिकापुरमा फेरी रेडियाे चलाउने रञ्जिताकाे चाहना छ ।
“ म वा रेशमजी जब काठमाडौँबाट रेडियोको लागि टिकापुर गयौँ, त्यहाँका चौधरी र पहाडी समुदायले हाम्रो काम, मेहनत देखेर हामीलाई सम्मान र प्रेम देखाउनुभएको देखेर हामी भावुक भएका थियौ,’ उनले भनिन्,’मलाई स्थानीय दुवै समुदायले छोरो, दिदी, बहिनी मानेका छन् । आफूले चाहेको मिहिनेत गरेको, काम र कर्मभूमिमा कसलाई फर्कन मन हुँदैन होला र ? हामी जान्छौँ र फेरी त्यो रेडियो त्यो सम्मान, फिर्ता लिनेछौ ।”
घटना हुँदाको क्षण:
२०७२ सालमा नेपालका तराई जिल्लाहरू एकल पहिचान र पहिचानका मुद्दाले तनावग्रस्त थिए । राज्यको पुन संरचना र सङ्घीयताको संरचना कसरी गर्ने र के-के लाई आधार बनाउने भन्ने कुरामा (समुदाय र पहिचानलाई मुख्य आधार) राजनीतिक तप्का, समुदाय स्तरमा र कानुनीरूपमा अन्यौलता थियो ।
कैलाली जिल्ला पनि यही समस्याबाट गुज्रिरहेको थियो । यहाँ मुख्यतया: दुई पक्ष थिए । एक अखण्ड सुदूरपश्चिम र अर्को थरुहट । यी दुई समूहबीचमा राजनीतिक आधारमा विवाद भए पनि स्थानीय तहमा सामान्य असमञ्जस र विरोध मात्र देखिएको थियो ।
सरकारले प्रदेशको सिमाङ्कन र नामाङ्कनको कुरा नटुङ्गाएर प्रदेशको संख्या र संविधान निर्माणको कुरालाई मात्र ध्यान दिएकाले अखण्ड सुदूरपश्चिम र थरुहटको विषय विवादमै रहेको थियो ।
संविधान पारित गर्न सबैमा हतारो देखिन्थ्यो तर देशको चर्किएको मुद्दालाई सम्बोधन नगरी, त्यसलाई सुल्झाउने प्रयास नगरी, बनेको संविधान र कानुनले कसरी राज्यका समस्या, व्यक्ति, समुदायका इच्छालाई, जनभावनालाई , न्यायगत ढंगले र निरपेक्षरुपमा सम्बोधन गर्न सक्छ ?
यसैको कारण, कैलालीको दुर्गौलीमा भदौ ४ गते दुई समूहबीच झडप भएको थियो । अखण्ड सुदूरपश्चिम पक्षधरले ४ गतेका दिन मोटरसाइकल र्याली आयोजना गरेको थियो र त्यही दिन, दुर्गौली क्षेत्रमा थरुहट पक्षका कार्यकर्ताले अवरोध गरेपछि दुवै पक्षबिच दोहोरो ढुङ्गा हानाहान भएको थियो ।
रिसको भावना उत्पन्न र अवस्था तनाबग्रत भएपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गर्नुपरेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।
५ गते समेत सामान्य झडप भएका थिए । ६ गते त्यसैलाई रोक्नका निम्ति धनगढीमा दुवै पक्ष र सर्वदलीय बैठक बसी कुनै पनि समूहले एक अर्काको विरोध प्रदर्शनमा अवरोध नगर्ने र शान्तिपूर्ण सम्मेलन गर्ने सहमतिको भएको थियो । यसैको लागि रेशम काठमाडौं बाट धनगढी आएका थिए |
आन्दोलनलाई सामान्य र शान्तिपूर्ण ढंगले लैजाने सहमित भएपनि, त्यसैको पछिल्लो दिन अर्थात् ७ गते थारुहटले समुहले टिकापुर नगरपालिकाको बोर्डमा ‘थारुहट जिन्दाबाद’ लेखन कार्यक्रम राख्यो ।
टीकापुर नगरपालिकाको वरपर पहाडी बासिन्दाको बाक्लो बस्ती छ । त्यसैले त्यहाँ झडप हुन सक्ने सङ्केतहरू सोही दिनको बिहानबाट नै देखिन थालिसकेका थिए । त्योबेला रेशम चौधरी, बर्दियाको जिल्लाको गुलरिया भन्ने ठाउँमा थिए ।
टीकापुरमा थारुहटका जम्मा ४ इकाई थिए र चारै इकाईबाट जनमानस जम्मा हुने र जाने कार्यक्रम थियो ।
जुन स्थलमा घटना घट्यो त्यो ठाउँमा चौधरी बस्ती बाक्लो छ । साथै, सो स्थानमा पहाडी समुदायको पनि उल्लेख्य बसोवास रहेको छ ।
बिहानदेखि प्रहरी तैनाथ थिए तर प्रहरी सामान्य झडप नियन्त्रण गर्ने तयारी मात्र गरेर ड्युटी गर्दै थियो ।
‘चौधरीहरू जम्मा हुँदै गइरहेका थिए र प्रहरीले नियन्त्रण गर्दै थियो। थोरै समयमा नै अपत्यारिलो तवरले त्यहाँ ठुलो भिडको जम्मा भयो र भीड प्रहरीको नियन्त्रणभन्दा बाहिर गयो । फलस्वरुप टीकापुरमा भयानक हिसा भडि्कयाे ।
प्रहरी वरिष्ठ उपरीक्षक तथा सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका ३ र १ जना बालक सहित ९ जनाको मृत्यु हुन पुग्यो।
त्यही दिनको रातमा र ८ गतेको दिन अवस्था अझ भयावह र गम्भीर भइसकेको थियो ।
“हामी टिकापुर घटना सम्झँदा, प्रहरीको मृत्यु सम्झन्छौ- जुन आफैँमा दु:खद घटना हो । रेशम चौधरी सम्झन्छौ, भदौ ७ गते सम्झन्छौ तर हामीसँग ८ गते चौधरीमाथि भएका अन्याय र अत्याचारको कुनै हिसाब नै छैन”, रञ्जीता भन्छिन, “८ गते बिहानै कति जना चौधरीहरू घर छोडेर भाग्नु पर्यो ? कति चौधरी नारीहरूमाथि यौन दुर्व्यवहार र बलात्कार भयो ? घटनाको छानबिनका लागि सरकारले समिति गठन गर्यो र केही दिनपछि सराकारी टोली आयो, जो थारु बस्तीमा पुग्दै नपुगी (८ गते बारे केही उल्लेख नगरी) फिर्ता गयो ।”
“हामी टिकापुर घटना सम्झँदा, प्रहरीको मृत्यु सम्झन्छौ- जुन आफैँमा दु:खद घटना हो । रेशम चौधरी सम्झन्छौ, भदौ ७ गते सम्झन्छौ तर हामीसँग ८ गते चौधरीमाथि भएका अन्याय र अत्याचारको कुनै हिसाब नै छैन”, रञ्जीता भन्छिन, “८ गते बिहानै कति जना चौधरीहरू घर छोडेर भाग्नु पर्यो ? कति चौधरी नारीहरूमाथि यौन दुर्व्यवहार र बलात्कार भयो ? घटनाको छानबिनका लागि सरकारले समिति गठन गर्यो र केही दिनपछि सराकारी टोली आयो, जो थारु बस्तीमा पुग्दै नपुगी (८ गते बारे केही उल्लेख नगरी) फिर्ता गयो ।”
यहाँ प्रश्न गर्न सकिन्छ, ७ गते जुन घटना घट्यो त्यो दु:खको कुरा हो तर ८ गतेका दिन प्रहरी प्रशासनले किन मान्छे नियन्त्रणमा लिन सकेन ?
के घटनाको बदला घटना नै हुन्छ र ? अहिले पनि डरका कारण कति निर्दोष चौधरीहरू भारतमा निर्वासित भएका छन् ।
हामीले उनलाई सोध्यौँ- उसो भए जुन घटनाले टिकापुरको अवस्था द्वन्दग्रस्त भयो, के त्यो यही दुई समूह बिचको (अखण्ड सुदूरपश्चिम र थरुहट) को आपसी झगडा हो वा अरू केही हो?
प्रश्नको जवाफमा रञ्जीता भन्छिन्, “ होइन त्यो दिनको घटना न अखण्ड सुदूरपश्चिमले गरेको हो, न थारुहटले गरेको हो अथवा न यो घटना दुई समूहबिचको आपसी झगडा नै हो । यहाँ अर्को तत्त्व थियो, र यो सबै त्यही तत्त्वको निर्देशनमा भएको हो ।”
यो घटनाको करिब दुई हप्तापछि रेशमलाल चौधरीलाई मुख्य अभियुक्त बनाई ५८ जना विरुद्ध नेपाल प्रहरीले जिल्ला अदालत धनगढिमा कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका चोरीको मुद्दा दर्ता गर्याे ।
रेशम चौधरी लगायतका ११ जनालाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) बमोजिम, २०७५ साल फागुन २२ गते निर्णय दियो ।
जिल्ला अदालत कैलालीले रेशम लगायत १० जनालाई दोषी ठहर गर्दै जन्म कैदको सजाय सुनायो तर अदालतले, डाँकाचोरीतर्फ भने सफाइ दिएको थियो ।
११ मध्ये एक जना श्रवण चौधरी नाबालक भएको हुँदा उनीलाई नाबालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११ (३) अनुसार १० वर्ष मात्र कैद सजाय भयो ।
अभियुक्तलाई जिल्ला अदालतको निर्णय चित्तबुझ्दो नलागेपछि फेरी उच्च अदालत दिपायलमा पुनरावेदन गरे । उच्च अदालतले रेशम लगायत ६ जनाको विरुद्ध जिल्लाको निर्णयलाई ३ पुस २०७७ मा सदर गरी दियो भने अन्य चार जनाको सजाय घटाएर जनही ५ वर्ष गर्यो ।
अझ, लक्ष्मण थारु (चौधरी ) लाई जिल्लाले ३ वर्ष सुनाएको सजाय भुक्तान गरी सक्दा पनि सजाय कम भएको भन्दै उनलाई पनि जन्मकैदको फैसला सुनायो ।
फैसला आफ्नो पक्षमा नआएपछि रेशम चौधरी लगायत अन्य दोषी ठहर व्यक्तिले आफूले सफाई पाउनु पर्ने भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिसकेका छन् ।
त्यसैगरी चौधरी निर्वासित रहेकै अवस्थामा चौधरीले ०७५ सालको चुनावमा भारतबाटै उम्मेद्वारी दिए ।
रञ्जीता भन्छिन्; “उहाँ उतै भारतमा हुनुहुन्थ्यो, हामी आमाछोरा मिलेर प्रचारप्रसारको काम गरेका हौ ।”
रेशमले कैलाली क्षेत्र नम्बर-१ बाट करिब ३५ हजार मतले जिते । २०७५ साल पुस १९ गते रेशमले शपथ लिए । तर उनलाई, निर्वाचन आयोगले प्रतिनिधि सभाको प्रमाणपत्र दिन मिल्दैन भन्यो र चौधरी पुनः पुर्पक्षका लागि थुनामा रहे ।”
“यदि निर्वाचनले अभियोग लागेको व्यक्तिलाई प्रतिनिधि सभाको सदस्यको मान्यता दिन मिल्दैन थियो भने निर्वाचन आयोगले उम्मेदवारीको किन लियो त ? आफ्नो क्षेत्रमा जनमत प्राप्त गरिसक्दा पनि, मान्यता दिन किन मिलेन ? के जनमतमाथि अन्याय भएको होइन यो ? यदि त्यसो हुँदैन / मिल्दैन थियो भने, टिकापुर क्षेत्र नम्बर १, जहाँ बाट रेशमले जित्नु भयो त्यहाँ किन उप-निर्वाचन हुन सकेन ? देशमा दुई वटा सरकार परिवर्तन भइसके तर पनि त्यहाँ उप-निर्वाचन किन नगरेको ? ४ वर्ष सम्म कुनै क्षेत्र प्रतिनिधि विहीन राख्न मिल्छ ? यही हो लोकतान्त्रिक प्रणाली ?”रञ्जीता भन्छिन्,, “जब जब आफ्नो सरकार जोगाउनु पर्ने अवस्था आइपुग्छ या पार्टी विभाजन जोगाउन मान्छे चाहिन्छ, तब तब मात्र रेशम चौधरिको सम्झना आउँछ, थारुको सम्झना आउँछ यो देशका नेताहरूलाई, जम्मा एक भोट जसरि प्रयोग भैरहेका छन् चौधरी समुदाय | रेशमजीलाई केवल मोहोरा जस्तो बनाएका छन् ।सरकारलाई समर्थन चाहिएमा दोषी, निर्दोष केही मतलब हुँदैन रहेछ । आफ्नै पार्टी पनि सरकारमा जान पाए पुग्छ । न्याय र अन्यायको बिचमा राजनीतिक र शक्तिको स्वार्थ बाहेक अर्को थोक छैन ।पहिचानका मुद्दा, आदिवासी जनजातिका मुद्दा, समावेशिताका मुद्दा आफ्नो निहित स्वार्थ र आफ्नो राजनीति जोगाउन मात्र प्रयोग गरे जस्तो देखिन्छ ।”
चौधरीको मुद्दालाई लिने कानुनी प्रावधान के कस्तो छ ?
जिल्ला अदालतमा फैसला गरिएको न्यायिक टिप्पणीमा भनिएको छ, ‘कानुनले अपराधमा संलग्न भइसकेपछि कसैलाई पनि कुनै दयाभाव देखाउन मिल्दैन, सक्दैन ।
कठोर न्यायिक टिप्पणी सहित चौधरीलाई लगाइएको मुद्दा जिल्लाले कसुर ठहर गरेको छ । पछिल्लो समय सजाय माफी दिने भनी, राजनीतिक स्तरमा मुद्दा मिलाउने देखि, अदालतबाट फिराद फिर्ता लिनेसम्मका कुरा आए । रेशम समलग्न रहेकाे दल (जसपा) संविधान संशोधन, मधेस आन्दोलनमा सजाय पाएकाको रिहाइ, नागरिकता सम्बन्धी कानुन र रेशम चौधरीको रिहाइ गर्दा मात्र आफू के.पी.शर्माको सरकारलाई साथ दिने माग राख्दै आएका थिए । तर, रेशम चौधरीसंग जोडिएको मुद्दा फिर्ता गर्न नेपालको वर्तमान संविधान र कानुनले दिँदैन ।
नेपालमा राष्ट्रपतिबाट आममाफी र सजाय माफी दिने चलन छ तर, त्यसका लागि कानुनी प्रक्रियाबाट मुद्दामा अन्तिम किनार लागेको हुन पर्ने छ । चौधरीको मुद्दामा अब सर्वोच्चले फैसला सुनाएपछि मात्र त्यो प्रक्रियामा जान मिल्ने छ तर त्यसरी आममाफी पाएमा दोषी ठहर भइसकेको मानिन्छ ।
नेपालको संविधानको धारा ८७ अनुरूप सांसदको योग्यतामा ‘नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको’ हुनुपर्ने उल्लेख छ । त्यसैले यसरी राष्ट्रपतिबाट कैद सजाय मिनाहा गर्दा रेशमको संसद् पद रहने छैन र उनी आगामी दिनमा पनि संसद् हुनबाट वञ्चित हुनेछन् ।
प्रतिनिधिसभाको नियमावलीको नियम २४४ को उपनियम ४ अनुसार संसद्का कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभरि वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसलाबमोजिम कैदको सजाय भुक्तान गरिरहेको छ भने सो अवधिभरि निजको सदस्य निलम्बित भएको मानिने उल्लेख छ।
यहाँनेर, धेरै कानुनविद् र व्यवसायीले संविधान र नियमावलीको नियम बाझिएको भन्दै आएका छन् र यस्तो अवस्थामा संविधानको धारा १ बमोजिम हुने बताउँदै आएका छन् जहाँ धारा १ मा “संविधान नेपालको मूल कानुन हो । यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ” भनेर उल्लेख छ र यो सम्बन्धमा, रिट निवेदन समेत परेको छ तर सर्वोच्च अदालतले निर्णय गरी सकेको छैन ।
२०७२ साल पुस ३० गते सर्वोच्चको पूर्ण इजलासले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी मुद्दामा लागू औषध, बलात्कार, जघन्य अपराधका मुद्दा फिर्ता हुन नसक्ने भनेर फैसला दिएको छ । रेशमको हकमा पनि यो नजिर आकर्षित हुने अवस्था देखिन्छ । त्यसैले मुद्दा फिर्ता गर्ने, माफी दिने भन्दा पनि निर्णय छिटो दिएको भए हुने, भन्छिन रञ्जीता ।
देशमा फेरी सरकार परिवर्तन भएको छ । यसै सँगै यो मुद्दा फेरी सेलाउन थालेको छ।
“हरेक पटक नयाँ सरकार आउँदा हामीलाई अब मुद्दा किनार लाग्छ जस्तो हुन्छ तर आज ६ सम्म वर्ष भइसक्यो , हामी आशा बाहेक अरु केहि गर्न सक्ने अवस्थामा छैनौ, ‘ रञ्जिताले कुराकानीकाे बिट मारिन् ।