गोविन्दबहादुर मल्ललाई ‘गोठाले’ बनाउने त्यो कथा !

diyopost.com
दियो पोस्ट  शनिबार, भाद्र १२, २०७८ | १७:२०:३४

शारदा’ र ‘आवाज’ पत्रिकाको सम्पादक भएर साहित्यिक पत्रकारिता तथा निजी व्यवसायमा सँलग्न रहने गोठालेको साहित्यिक यात्रा कविता विधाबाट नै सुरु भएको पाइन्छ। उनको प्रथम प्रकाशित कविता ‘सन्ध्याकालीन नेपाल’ (शारदा, १९९५) शीर्षकको हो भने प्रथम प्रकाशित कथा ‘त्यसको भाले’ (शारदा, १९९७, फागुन) बालमनोवैज्ञानिक कथा हो। उनले नाट्य (लेखन २००३-०४ सालतिरबाट सुरु गरेका हुन् र ‘भुसको आगो’ (२०१३) प्रथम नाट्यकृति हो। यसरी नै पहिलो उपन्यास कृति ‘पल्लो घरको झ्याल (२०१६) हो। 

‘नेपाल साप्ताहिक २५०’ मा रमण घिमिरेसँग कुराकानीको क्रममा गोठालेले ‘त्यसको भाले’ कथाबाट आफ्नो साहित्यारम्भ भएको कुरा बताएका छन्। जसलाई यहाँ साभार गरिएको छ;

‘त्यसको भाले’ कथाबाट मेरो साहित्यारम्भ भएको हो। त्यही कथाले नै मलाई आजको यो ‘गोठाले’ बनायो। त्यो शारदा मासिकमा छापिने सुरसारमा थियो। प्रेसमा त्यसको ‘कम्पोज’ पनि भइसकेको थियो। यो प्रसङ्ग विसं १९९७ को हो। ठीक त्यसैबेला मलाई पक्रेर लगियो। त्यस समय प्रजा परिषदले पर्चा छरेको थियो। मैले पनि पर्चा छरेँ। र, मलाई समातेर लगियो। त्यस समय भवानी भिक्षुले शारदा हेर्नुहुन्थ्यो। उहाँले आशङ्का गर्नु भयो, “मेरो नाममै कथा छापियो भने म सरकारी चेपारोमा त पर्छु पर्छु, स्वयम् शारदा पनि पर्न सक्छ।” तर, उहाँसँग त्यो कथा नछाप्नुको विकल्प पनि थिएन। त्यसैले भिक्षुले मेरो कथा पनि छापिने, शारदा को प्रकाशन पनि बच्ने नयाँ जुक्ति निकाल्नुभयो। फलतः उहाँले मेरो साहित्यिक न्वारान गरेर मलाई ‘गोठाले’ बनाइदिनु भयो।

यद्यपि, मैले त्यस कथामा आफ्नो वास्तविक नाम गोविन्दबहादुर मल्ल नै लेखेको थिएँ। मलाई गोविन्दबहादुरबाट ‘गोठाले’ बनाउनुका पछाडि पनि भिक्षुको आफ्नै तर्क थियो। गोविन्द भनेको कृष्ण अर्थात् गोठालो। यसरी म गोविन्दबाट ‘गोठाले’ हुनपुगेँ। पछि गोविन्द ‘गोठाले’ लेख्न थालेँ। त्यहाँदेखि आजको कालखण्डबीचका ६७ हिउँद र वर्षहरू मैले निरन्तर नेपाली साहित्यको सेवामा बिताएँ। साहित्यको गोठालो गर्न सकेँ या सकिनँ, त्योचाहिँ पाठकको मूल्याङ्कनमा छाड्न चाहन्छु।

प्रस्तुत छ, गोविन्द गोठालेको प्रथम प्रकाशित कथा ‘त्यसको भाले’:-

कसनांचा ज्यापूको सातआठ वर्षको छोरो बिहानीपख झल्लयाँस्स ब्यूँझेछ। ठीक त्यसै बखतमा तल छिँडीबाट ‘कुखुरीकाँ’ शब्द सुनियो। विसनांचाले कान थापेर सुन्न थाल्यो, भड्भड पखेटाको चाल र फेरि ‘कुखुरीकाँ’। उसको मुख आनन्द तथा खुसीले प्रफुल्लित देखिन थाल्यो। मिरमिरे उज्यालो हुन लाग्यो, टाढाटाढाबाट भाले एउटापछि अर्कोले चिच्च्याईचिच्च्याई दिनलाई डाकिरहेका थिए। विसनांचा मुग्ध भएर सुन्न लाग्यो। एकछिनपछि फेरि आफ्नो भालेले भड्भड् गर्दै ‘कुखुरीकाँ’ गर्यो। अब त्यसलाई बसिसक्नु भएन र जुरमुराउँदै उठेर बस्यो। उसलाई किन हो कुन्नि आफ्नो कुखुराले गाएको तान सारै मीठो लाग्यो, सारै मज्जा लाग्यो। फेरि कान थापेर सुनिरह्यो, भालेले फेरि गायो। उसले उङ्दै विचार गर्यो ‘मेरो कुखुरा कुनै न कुनै दिन अवश्यो चराहरूको उस्ताद हुनेछ, अनि चराहरूको राजाका अघिमल्तिर यसलाई लैजानेछ, त्यहाँपछि यसरी तान छोड्नेछ कुखुरीकाँ’। उसको हृदय उल्लास तथा खुसीले फुलेर आयो।

उसले फेरि विचार गर्यो, ‘त्यो पैसावाल भयो भने! पचास रुपियाँ एकचोटि गाएको फीस आउनेछ अनि … अनि त्यो मूला रामेलाई मैले के गर्ने थाहा छ? खुब फुर्ती गर्छ, आफू बलियो छ भनेर!’ विचार गर्दागर्दै उसलाई फेरि निद्रा आयो।

उसले ब्याहान कुखुरालाई बाहिर जिक्यो र सुमसुम्याउँदै बिस्तारै भन्यो, ‘तँ बहादुर, हेर् न, यो मेरो भाले पछि वीर हुनेछ।’

भाले ट्वाकट्वाक गर्दै हिँड्यो, कहिले भ्याट्भ्याट्, कहिले टुटु र कहिले शिरको रातो मुकुट हल्लाउँथ्यो। वसनांचा मुग्ध भएर यो तमासा हेरिरहन्थ्यो। खुसी हुँदाहुँदा त्यसले आफैँलाई काबुमा राख्न सक्तैनथ्यो। भालेलाई समात्न खोज्दथ्यो। भाले भने आत्तिएर कराउँदै भाग्दथ्यो, तर केहीबेरपछि त्यसले आफैँलाई काबुमा राख्न सक्तैनथ्यो। भालेलाई समात्न खोज्दथ्यो। भाले भने आत्तिएर कराउँदै भाग्दथ्यो, तर केही बेरपछि त्यसले उसलाई भेट्टाउँदथ्यो तैपनि त्यो भाग्न खोज्यो भने ‘ला, ला’ प्रेमले भरिएको सुस्तरी पिटी उसको आङमा थपथपाइदिन्थ्यो।

भालेको आखिर केही जोड नचलेर चुप लागेपछि विसनांचाले खुब प्यारो गरेर मुसार्दै भुनभुनाउँथ्यो, ‘त्यसरी डराउनुहुन्छ? म को हुँ, तँलाई के गर्छु र!’ यस्तो भन्दाभन्दै त्यसलाई अँगालो हाली छाडिदिन्थ्यो। भाले पनि मौका पाउनेबित्तिकै भागिहाल्थ्यो। यसरी यी दुई प्राणीको क्रीडा चल्दै रहेको थियो।

‘अब यो लड्छ, खुब लड्छ,’ भन्दै विसनांचा कुखुरालाई च्याप्तै उफ्रन थाल्यो। भाले लडाउनमा उसको चाख बढ्दै गयो। टोलको अरू भालेसित आफ्नो भाले लगेर भिडाइदिन्थ्यो। भडागभडाग लातमाथि लात चल्दथ्यो। ठुँगाठुँग हुन्थ्यो र त्यो सर्तक दृष्टिले हेरिरहन्थ्यो। उसको मुटु ढुकढुक हुन्थ्यो।

नभन्दै एक दिन लड्दा-लड्दा भालेको आँखा चिरिएर भलभली रगत आउन थाल्यो तैपनि त्यो लड्दै थियो। झटपट ‘एए’ गर्दै भालेलाई छुट्ट्यायो र आफ्नो छातीमा जोड्दै घर ल्यायो र भन्यो ‘हत्तेरी, आँखा चिरियो! मलाई के थाहा थियो र!’ भालेको जोस अझ उत्रेको थिएन, पखेटा चलाउँदै थियो। उसले जोसित कसेर भन्यो, ‘भयो भय, तँ पनि।’ उसले कति दवदेवीहरूको प्रार्थना गर्यो त्यसको आँखा निको होस् भनेर। भाले एकैछिनमा चुप भयो। त्यसको आँखामा बेसार र तेल लाएर प्रतिज्ञा गर्यो, ‘अब म यसलाई कहिले पनि लडाउने छैन।’ भालेकै कुरामा कतिचोटि कति जनासित झगडा र कतिचोटि छिमेकीहरूसित भिड्न आमाबाबुलाई समेत जान पर्यो। अत: उसको बाबुले उसलाई खेतमा लैजान थाले।

पहिलो दिन जान लाग्दा उसले भालेलाई एकचोटि प्रेमको दृष्टिले हेरी भन्यो, ‘नभाग् है।’ तत्क्षणै बाबुको ‘लौ हिँड् तेरो भाले लगी भद्रकालीमा काटिदिन्छु अनि थाहा पाउलास्।’ सुन्नुपर्दा प्रेम, माया र आनन्दको सट्टा दु:ख र भयले हृदयमा ढ्याङ्ग्रो ठटाउन थाल्यो। एकचोटि पुलुक्क बाबुको मुख हेरी टाउको निहुराई अन्यमनस्क दशामा पछि-पछि लाग्यो। एकाएक बाबुको हप्काइ सुन्न पर्यो, ‘राम्रोसित हिँड् न।’ अनि विसनांचा झल्याँस्स भयो। ‘साँच्ची, ऊ त भालेसँग त खेलिरहेको होइन, बाबुको पछिपछि पो हिँडिरहेछ। खेतमा काम गर्न।’फेरि उसको मनमा कुरा खेल्न लाग्यो। ‘कुखुरा बेपत्ता भइदिए त? छलेर भागूँ? के हुन्छ र? मेरो भाले त्यसरी भाग्ने हो र, वीर हो,’ भन्दै मनलाई सान्त पार्यो। कुखुराको नाचमा मस्त हुँदै ऊ खेतसम्म पुगी सकिनसकी खेतमा आलु रोप्ने काममा लाग्यो। तर अलिक बेरमै कुटोले माटो कोट्याउँदै-कोट्याउँदै टोलाएर हेरिरह्यो, ‘कुखुरा उसको खुट्टामा आएर ठुँगिरहेछ कि?’ ठिकै त्यसै बखत बाबुको झम्टाइ कानमा पर्यो, ‘हेरहेर काम गर्न कस्तो मन नलागेको लाटोले केरा हेरेझँ, चुप लागेर के बसिरहेको?’ फेरि स्वास्नीपट्टि हेरेर भन्यो, ‘खोइ, त्यस्तो कुलङ्कार छोरो जन्माएर पनि यसले कमाएर ख्वाउला जस्तो छैन।’

विष्णुनारायणको हात र माटोमा छिटोछिटो चल्न लाग्यो, तर मन?

दिनहरू यसै गरी बितिरहेका थिए। एक दिन यस्तै विचार तल्लीनतामा एउटा कुखुरा क्याँक्याँ गर्दै आयो। उसले मन थाम्न सकेन र बाबु अघिल्तिर छ भन्ने पनि बिर्सेछ, ऊ त कुखुराको पछिपछि दगुर्यो। कुखुरा आत्तिएर भाग्यो। समात्न कति चेष्टा गर्यो, तर केही जोड चलेन। ‘यो मेरो नै होइन?’ सोच्तै विसनांचा फेरि आफ्नो ठाउँदा उसको बाबुले कान समाती जुरुक्क उचालेर पड्याङपड्याङ पटापट दुई थप्पड दियो। तर बिचरा विसनांचा जिल्ल परेर बसि नै रह्यो, उसको आँखाबाट आँसु चुहेन। यस कुरामा कमलो मन एटा निश्चयमा पुग्यो, ‘अवश्यो यो बाले कुखुरालाई मारिदिनेछ- मारिदिनेछ।’ लामो सुस्केरा हालेर भित्रभित्रै फेरि भन्यो, ‘अवश्य मारिदिनेछ।’ भयपीडित आँखाले उसले एक पटक बाबुको मुख हेर्यो।

—————

बाबुले तमाखु तान्न लागेका सुनेर मात्रै ऊ कुखुरालाई समाती हातले बिस्तारै थपथपाउँदै भन्थ्यो, ‘डराउनु पर्दैन, तँलाई कसैले मार्दैन।’ कुखुरा पनि कुन्नि किन हो एकदम डराई झोक्रिएर बस्थ्यो, ‘नडरा-नडरा, म छँदै छु नि।’ अनि खिन्न दृष्टि यताउति फेर्दै विचार गर्दथ्यो। ‘एउटा ख्याके टोपी हुन्छ रे पाउँदो हुँ त यसलाई लगाइदिन्थेँ।’ ‘फेरि यसलाई को देख्न सक्तथ्यो?’ यसै गरी विष्णुनारायण कल्पनामा मस्त हुन्थ्यो। भाले पनि एकपटकसँग उसको मुख हेरिरहन्थ्यो। यस्ता कल्पनाहरू आफ्नो चरमावस्थामा पुग्न जाँदा एकाएक उसको सहानुभूति उम्लन्थ्यो- ‘नरो, बाबै! नरो’, अनि आँखाबाट थोपाहरू चुहिन लाग्थे।

एक दिन टाउको फुटाएर रुँदै विष्णुनारायण घरभित्र पस्यो। आमा ‘के भयो, के भयो मेरो बाबालाई’ भन्दै तल आई। तर उसको रुवाइ एकदम बन्द भयो। टोलाएर आफ्नो भालेलाई हेरिरह्यो, ‘त्यसको शरीर, त्यसको रातो कल्की, त्यसको हिँडाइ।’

‘कसले टाउको फोडिदियो भन न,’ आमाको भनाइ उसको कान भेदेर हृदयसम्म पुग्यो, झल्याँस्स भयो र झन् जोडसित रुँदै भन्यो, ‘त्यसै फुट्यो, सबै फुट्यो, लडेर फुट्यो।’ हातले मुख छोप्दै झन जोडसित रुन थाल्यो।

‘कतिचोटि भनिसकेँ बाहिर खेल्न नजा, बाहिर खेल्न नजा तर जति भने पनि बाहिर मात्रै अन्मरिन्छ।’ यति भनी पुर्पुरोमा हातले ठोकी माथि लागी।

वास्तवमा टाउको लडेर होइन कि रामचाले ढुङ्गाले हिर्काइदिएकोले फुटेको थियो। तिनी दुई जनामा यही भालेकै बारेमा कतिचोटि झगडा परिसकेको थियो। ‘सबभन्दा ब्याहान कसको भाले बास्छ?’ ऊ बन्ने ‘मेरो’, अर्को भन्ने ‘मेरो’ यत्तिकै कुरामा हाताहातसम्म हुन्थ्यो।

आज त रामचाले हाँक दियो, ‘लौ ले तेर कुखुरा, लडाऊँ न।’

‘नाइँ म त लडाउन्नँ।’ विष्णुनारायणले नामन्जुर गर्यो। तर रामचाले खिसी गरेर भन्यो, ‘मेरो कुखुरासित जुध्न तेरोको के तागत?’

विष्णुनारायणलाई जोस चढ्यो र भन्यो, ‘अस्ति आँखा चिरिएर पनि लडिरहेको थियो, के फुर्ती गर्छस्।’

अर्कोले भन्यो ‘हरँ त हेरूँ।’

‘हेरूँ भने हेरूँ त’ भनेर विष्णुनारायणले आफ्नो भालेलाई छोडिदियो। तर अभाग्य। दसबार लातैमा बिसनांचाकै भाग्यो। सबैले ‘हाहा’ गरेर ताली पिट्न थाले।

‘खोइ तेरो, के फुर्ती गर्छस्’ रामचाले हाँस्तै भन्यो। आफ्नो भाले हारेकोले झोँक त चलेकै थियो, अब विष्णुनारायणलाई सहिसक्नु भएन। एकैछिनमा पिटापिट पर्यो।

————————-

‘हराउँदैन हराउँदैन’ भन्दा-भन्दै त्यो भाले त एक दिन हरायो। उसकै आँखाको सामुन्ने कुरा के भयो भने एक दिन राति भाले थुन्ने खोरको ढोका विसनांचाले थुन्न बिर्सेछ। अकस्मात् एउटा बिरालो आई त्यसको घाँटी नै क्याक्क पारेर समातिदिएछ। भाले ‘क्याँक्याँ’ पनि कराउन पाएन। पखेटा भने भ्याट-भ्याट गर्दै थियो, तर त्यो बिरालोले छानामाथि लगी आरामसाथ पुच्छर, पखेटा, टाउको छोडी अरू सब मस्त भई खाएछ।

भोलिपल्ट ब्याहान विसनांचा आफ्नो भाले हेर्न भनी गयो, तर त्यहाँ त्यसले भाले देखेन र खोज्न थाल्यो, आमासित सोध्यो, तर पत्तै लागेन। तैपनि खोज्दै थियो, त्यसै बेला छानाबाट भुत्ला उडेर त्यसको अगाडि खस्यो। शङ्का लागेर त्यो छाना चढ्दा भालेको कल्कीयुक्त टाउको त आनन्दसाथ सुतिरहेको पायो, रगतले मुछिएको एकदम रातो अर्ध-निमीलित आँखा, चुच्चो अलि खोलेको थियो। मानौँ उसलाई देखेर भनिरहेको थियो, ‘म त गएँ, म त गएँ।’

अन्तरभित्र बगिरहेको रगत थामिन गए जस्तो लाग्यो। किन्तु ऊ बोलेन, रोएन, चलेन। खुट्टा काँप्यो, तर त्यो मूर्तिवत् निस्तब्ध। एकछिनपछि अन्यमनस्कझैँको अवस्थामै त्यसले रातो टाउको उठायो। त्यही, उसको भालेको टाउको, त्यही चुच्चो, त्यही कल्की तर भालेले सधैँको झैँ आफ्नो मायाको आँखाले हेरेन, आफ्नो मूक स्नेहको क्षुद्र प्रदर्शन पनि गरेन। त्यो टाउकोलाई हेर्दै छानाबाट उत्रन के खोजेको थियो, काँपिरहेको खुट्टा चिप्ल्यो र लडीबुडी खेल्दै तल चोकमा ‘भड्याङ’ खस्यो। एउटा हातमा कुखुराको अर्धनिमीलित आँखाले हेरेको टाउको थियो, किन्तु विसनांचाको आँखा सधैँको निम्ति बन्द भइसकेको थियो।

[‘शारदा, १९९७ फागुन, वर्ष ७, संख्या ११’ बाट]