सुरज सुवेदीलाई ५० हजार राशिको ‘गामवेसीका कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार-२०८२’

दियोपोस्ट संवाददाता  

ललितपुर, ५ वैशाख (२०८२) । ललितपुरको धोबीघाटमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच नेपाली गीत-संगीतको साहित्यिक विश्लेषण र सिर्जनात्मक लेखनमा सक्रिय युवा व्यक्तित्व सुरज सुवेदीलाई ‘कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार– २०८२’ बाट सम्मानित गरिएको छ।

गुरुकुल एजुकेसन फाउण्डेसन र नेपाल कलेज अफ म्यानेजमेन्ट (NCM) को संयुक्त आयोजनामा सम्पन्न ‘एनसिएम डे–२०८२’ का अवसरमा सुवेदीलाई नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिएको हो।

 सुवेदीले ‘सबटेक्स्ट विथ सुरज’ जस्ता भिडियो शृङ्खलामार्फत नेपाली गीतमा हराउँदै गएको साहित्यिक गहिराइ, शब्दको मर्म, पृष्ठभूमि र अर्थलाई विश्लेषण गर्दै आएका छन्। त्यस्तै, ‘एसियन राइट्स’ मार्फत उनले नयाँ पुस्तालाई सिर्जनात्मक लेखनमा अभिप्रेरित गर्दै एउटा बलियो नेतृत्वदायी भूमिका निभाइरहेका छन्।

पुरस्कार ग्रहण गर्दै सुवेदीले आफ्नो मनले अह्राएको र रुचिको कामलाई यसरी सम्मान गरिँदा थप जिम्मेवारीबोध र हौसला मिलेको बताए।

कार्यक्रमका संयोजक अमनप्रताप अधिकारीले नयाँ पुस्ताका प्रतिभालाई सिर्जनाको गोरेटोमा हौसला प्रदान गर्न गत वर्षदेखि यो ‘प्रोत्साहन पुरस्कार’ सुरु गरिएको बताए। उनले भने,“गामबेंसीको माटो र अधिकारीज्यूको आदर्शबाट अभिप्रेरित भएर उदाउँदै गरेका प्रतिभालाई उज्यालो देखाउने यो हाम्रो एउटा विनम्र प्रयास हो। यस पुरस्कारमार्फत हामी उहाँको स्मृतिलाई सजीव राख्ने प्रयास गरिरहेका छौं र नयाँ पुस्तालाई समर्पणका साथ अघि बढ्न प्रेरणा मिल्ने विश्वास लिएका छौँ।”

गत वर्ष ‘कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार – २०८१’ बाट नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेणुका नगरकोटे सम्मानित भएकी थिइन्। हरेक वर्ष फरक-फरक विधामा उल्लेखनीय योगदान दिने युवा प्रतिभाहरूलाई यो प्रोत्साहन पुरस्कार प्रदान गर्ने गरिएको आयोजकले जनाएको छ। 

सिफारिस